बिपी राजमार्गमा एक महिनासम्म राति १२ घण्टा यातायातमा रोक

काठमाण्डाै, १ साउन । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आज (साउन १ गते)देखि एक महिनासम्म प्रत्येक रात १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइने भएको छ।

काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुली सिमानास्थित नेपालथोकसम्मको सडकखण्डमा मनसुन सक्रिय रहेका कारण पहिरो र बाढीको जोखिम बढेपछि यातायात सञ्चालनमा अस्थायी रूपमा रोक लगाइएको हो। धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै जोखिम न्यूनीकरणका लागि साउन १ गतेदेखि भदौ १ गतेसम्म प्रत्येक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जानकारी दिएको छ। काठमाडौँबाट बाहिरिने सवारीलाई काभ्रेभञ्ज्याङमा र काठमाडौँतर्फ आउने सवारीलाई नेपालथोकमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

उनका अनुसार बिपी राजमार्गका तीन जिल्ला – काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापका सुरक्षा प्रमुखहरुको सहभागितामा बसेको अन्तरजिल्ला समन्वय समितिको निर्णयअनुसार यो कदम चालिएको हो। यसअघि असार ७ गतेदेखि १५ दिनसम्म साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म दैनिक झन्डै १० घण्टा राजमार्ग सञ्चालनमा रोक लगाइएको थियो।

बितेको एक सातामै बाढी र पहिरोका कारण कम्तीमा चारपटक काभ्रेपलाञ्चोक खण्डको सडक अवरुद्ध भइसकेको प्रशासनले जनाएको छ। विगत वर्ष असोज महिनामा आएको पहिरोले चौकीडाँडादेखि वर्षेखोलासम्मको आठ किलोमिटर सडक पूर्णरूपमा बगाएको थियो। हाल अस्थायी रुपमा खोलामा वैकल्पिक मार्ग बनाइएको छ।

बाढी–पहिरोका कारण बिपी राजमार्गअन्तर्गत करिब १६० किलोमिटर लम्बाइको सडकमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्मको ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्मको ५० किमी गरी ८४ किमी सडक क्षेत्रमा गम्भीर क्षति पुगेको छ। क्षतिग्रस्त सडकको स्थायी पुनर्निर्माणका लागि चारवटा खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको छ।

पूर्वी नेपाल जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा रहेको यस राजमार्गमा दैनिक हजारौं सवारीसाधन सञ्चालन भइरहेका छन्। यातायात रोकिएको समयमा यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासनले अनुरोध गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस