रामशंकर भण्डारी
राजविराज, ०४ साउन । हाइभोल्ट जडान गरिएको विद्युत ढल्दा सप्तरीको ६ ओटा पालिकाको विद्युत सेवा शनिवारदेखि अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजको छेउमा रहेको ११ हजार भोल्टको विद्युत जडान भएको पोल ढलेका कारण राजविराज, हनुमाननगर कङ्कालिनी, डाक्नेश्वरी नगरपालिका र बिष्णुपुर, राजगढ र तिलाठी कोईलाडी गाउँपालिकाको विद्युत सेवा अवरुद्ध भएको हो । राति २ बजेदेखि विद्युत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
चरम गर्मीमा विद्युत सेवा अवरुद्ध हँुदा उक्त पालिकाको जनजीवन कष्टकर बन्न पुगेको छ । विद्युत अवरुद्ध हुँदा घरमा पनि सहज रुपमा बस्न नसक्ने अवस्था रहेको तथा खासगरी विरामी र बालबालिकालाई कठिनाइ झेल्नुपरेको राजविराज नगरपालिका व्यवसायी नन्दन मण्डलले गुनासो गरेका छन् ।
यता विद्युत प्राधिकरण राजविराजका प्रमुख लखनलला मल्लिकका अनुसार राजविराज नगरपालिका वडा नम्बर – २ स्थित ११ हजार भोल्ट लाइन प्रवाह हुने पोलमा समस्या भएकोले विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत प्रााधिकरणका कर्मचारीहरुको टोली मरम्मत सम्भारको काममा जुटेकाले मर्मत कार्य सम्पन्न भएलगत्तै विद्युत सुचारु हुने जनाइएको छ ।
