जनकपुरधाममा पन्ध्र वर्षीया किशोरीको हत्याः आमाको प्रेमी पक्राउ

जनकपुरधाम, १५ साउन । जनकपुरधाममा सोमबार राति १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या प्रकरणमा प्रहरीले आमाकै प्रेमीलाई पक्राउ गरेको छ ।

धनुषा प्रहरीले बिहीबार एक पत्रकार सम्मेलन गर्दै क्षीरेश्वरनाथ नगरपालिका–९, ईच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई सार्वजनिक गरेको हो । प्रहरी नायव उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार साहलाई बुधबार राति करिब १०ः३० बजे क्षीरेश्वरनाथ–९ बाट पक्राउ गरिएको हो। उनी यसअघि आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय भुक्तान गरी २०७७ सालमा रिहा भएका थिए ।

हत्या र घाइते
सोमबार राति करिब ११ः३० बजे खुकुरी प्रहारका कारण अञ्जलीको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र होविन्द्र यादवकी १४ वर्षीया छोरी राशा यादव गम्भीर घाइते भएकी छिन् । आशाको उपचार धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रेम सम्बन्ध र विवाद
प्रहरी अनुसन्धानले हत्या पछाडि आशा यादव र रामबाबु साहबीचको प्रेम सम्बन्ध तथा त्यसमा उत्पन्न विवाद मुख्य कारण रहेको देखाएको छ । जेलमुक्त भएपछि साह र आशाबीच प्रेम सम्बन्ध सुरु भएको थियो । तर पछिल्ला महिनामा आशा पुराना श्रीमानसँग नजिकिँदै जाँदा साह र आशाबीच दूरी बढेको पाइएको छ ।

प्रहरीका अनुसार, गाउँमा भएको छलफलपछि आशा र साह सँगै बस्ने सहमति भए पनि समयक्रममा आशाले साहसँग दूरी बढाउँदै पुराना श्रीमानसँग सम्बन्ध सुधार गरेकी थिइन् । आर्थिक अवस्था सुधार भएपछि उनले साहको फोन नउठाउने, रुम फेर्ने, र साहको परिवारसँग झगडा गराउने गतिविधि गर्न थालेकी थिइन् ।

हत्या अघि बढेको तनाव
प्रहरीका अनुसार, करिब दुई महिना अघि साहले आशाका लागि अटो खरिद गरेका थिए । तर, उक्त अटो आशाका भाइको नाममा नामसारी भएको थियो । आशाले साहसँग सँगै बस्ने कोठा सारेर पुराना श्रीमान्लाई समेत ल्याएकी थिइन् ।
घटनाको दिन साहले पटक–पटक आशालाई फोन गरे, तर उनले फोन नउठाई छोरी अञ्जलीलाई दिएको पाइएको छ । एक पटक कुरा हुँदा गाली–गलौज भएपछि साह आवेगमा आएर घरबाटै खुकुरी लिएर आशा बस्ने कोठामा पुगेर प्रहार गरेका थिए ।
रामबाबु साहले प्रहरी समक्ष घटनाबारे बयान दिँदै आशासँगको सम्बन्ध बिग्रँदै गएपछि रिसको आवेगमा अञ्जलीको हत्या गरेको स्वीकारेका छन् ।
यता प्रहरीले उक्त घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस