राजविराज, १५ साउन । सप्तरीको रुपनी गाउँपालिकामा फैलिएको लम्पी स्किन नियन्त्रणमा नआएपछि उपचार तथा भ्याक्सिन लगाउने कार्य थालिएको छ ।
भेटेरिनरी जेटिए सहित पशु प्राविधिकहरुको टोलीले लम्पी स्किन प्रभावित वडाहरुमा संक्रमित पशुको उपचारका साथै रोग फैलिन नदिन लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन लगाउन थालिएको हो । गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको निर्देशनमा वडा नम्बर ४ स्थित भथौल गाउँबाट पशुहरुको उपचार तथा भ्याक्सिनेशन कार्य द्रुत गतिमा अगाडि बढाइएको पशु विकास शाखा प्रमुख हरिगवन साहले जानकारी दिएका छन् ।
उनका अनुसार भथौल गाउँमा मात्रै दुई साता यता लम्पी स्किन रोगबाट हालसम्म वडा नम्बर ४ मा ब्रहम्देव यादव, भुवनेश्वर साह र गंगाराम मडरको एक–एकओटा गरी तीन ओटा पशुको मृत्यु भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार पालिकामा वडा नम्बर १ मा १, ३ मा ७, ४ मा २५, ५ मा ७ र ६ मा ४ गरी ४४ ओटा गाई, गोरु तथा बाछाबाछीमा रोगको संक्रमण फैलिएको छ ।
वडा नम्बर १ बाट खटिएको पशु प्राविधिक टोली सबै वडाको सङ्क्रमित बस्तीमा पुगेर उपचारका साथै निरोगी पशुहरुमा भ्याक्सिन लगाइने गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिएका छन् । लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन करिब ६ सय भाइल मात्र पालिकामा उपलब्ध रहेको जानकारी दिँदै उनी भन्छन् ‘अति प्रभावित क्षेत्रमा उपचार तथा तत्काल भ्याक्सिन लगाउने कार्य भइरहेको छ, त्यसैले रोग नियन्त्रण बाहिर जान दिँदैनौं ।’ नपुग भ्याक्सिनको व्यवस्था मिलाउन मधेश प्रदेश सरकारसँग माग गरिएको समेत पालिका अध्यक्ष यादवले जानकारी दिएका छन् ।
सप्तरी जिल्लाको कञ्चनरुप, राजविराज, महदेवा, बलान बिहुल, विष्णुपुर, राजगढ लगायतका पालिकाको केही वडामा गाई, गोरु, बाछा, बाछीमा समेत लम्पी स्कीन रोगको सङ्क्रमण फैलिएको छ ।
भिडियाे हेर्नुहाेस्: