राजविराज, १६ साउन । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ४ मा लम्पी स्किन सङ्क्रमित पशुहरुको रगतको नमूना सङ्कलन गरिएको छ ।
पालिका अध्यक्ष दिनेश कुमार यादवको विशेष पहलमा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरधामबाट शुक्रवार आएको टोलीले भथौल टोलका केही सङ्क्रमित पशुहरुको नमूना सङ्कलन गरेको हो । पशु चिकित्सक डा. राकेश कुमार साहको नेतृत्वमा आएको प्राविधिक टोलीले परीक्षणका लागि नमूना सङ्कलन गरेर लगेको रुपनी गाउँपालिकाका पशु विकास शाखा प्रमुख हरिगवन साहले जानकारी दिएका छन् ।

उनका अनुसार टोलीमा पशु स्वास्थ्य प्राविधिकहरु रबिन्द्र कुमार यादव, कमल प्रसाद बराल र धनजित खड्गा सम्मिलित छन् । पशु पंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिसकेपछि लम्पी स्किन रोगबारे वास्तविक जानकारी आउने पशु विकास शाखा प्रमुख हरिगवन साहले बताएका छन् ।
दुई साता यता लम्पी स्किन रोगबाट हालसम्म वडा नम्बर ४ को भथौल टोलमा ब्रहम्देव यादव, भुवनेश्वर साह र गंगाराम मडरको एक–एकओटा गरी तीन ओटा पशुको मृत्यु भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार पालिकामा वडा नम्बर १ मा १, ३ मा ७, ४ मा २५, ५ मा ७ र ६ मा ४ गरी ४४ ओटा गाई, गोरु तथा बाछाबाछीमा रोगको संक्रमण फैलिएको छ ।
पालिकाबाट खटिएको पशु प्राविधिक टोलीले लम्पी स्किन रोगको सङ्क्रमण देखिएका टोलबस्तीमा पुगेर उपचार गर्नुका साथै निरोगी पशुहरुमा भ्याक्सिन लगाउने कार्य अगाडि बढाइएको छ । लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन करिब ६ सय भाइल मात्र पालिकामा उपलब्ध रहेको तथा नपुग भ्याक्सिनको व्यवस्था मिलाउन मधेश प्रदेश सरकारसँग पालिकाले माग गरेका छन् ।
सप्तरी जिल्लाको कञ्चनरुप, राजविराज, महदेवा, बलान बिहुल, विष्णुपुर, राजगढ लगायतका पालिकाको केही वडामा गाई, गोरु, बाछा, बाछीमा समेत लम्पी स्कीन रोगको सङ्क्रमण फैलिएको छ ।
