राजविराज, २५ साउन । सप्तरीको राजगढ–२ कमलपुरमा प्रहरीको गोली लागेर ३६ वर्षीय लालु यादवको निधन भएको घटनाबारे मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले स्थलगत जानकारी लिएका छन् ।
मङ्गलबार राति भएको गोलीकाण्डको विषयमा आइतबार मुख्यमन्त्री सिंहले घटनास्थल पुगेर परिवारजनप्रति समवेदना व्यक्त गर्दै घटनाबारे चासो व्यक्त गरेका हुन् । उनले शोकसन्तप्त परिवारका सदस्य, स्थानीयवासी तथा नागरिक समाजका प्रतिनिधिसँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी लिएका छन् ।
स्वर्गीय लालु यादवको गोली लागी निधन हुनु अत्यन्त दुःखद र पीडादायी विषय भएको भन्दै मुख्यमन्त्री सिंहले यो असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति ईश्वरले परिवारलाई प्रदान गरून् भन्ने प्रार्थना गरेका छन् ।
घटनाको विषयमा आवश्यक अनुसन्धान र छानबिनका कार्यहरू अगाडि बढिरहेको भन्दै उनले सत्य तथ्य छिट्टै सार्वजनिक हुनेमा विश्वास व्यक्त गरेका छन् ।