दिपा यादव
विष्णुपुर, २८ साउन । सप्तरीको विष्णुपुर गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत रही अवकाशप्राप्त शिक्षकहरुलाई एक कार्यक्रमका बिच मङ्गलबार सम्मान गरिएको छ ।
२०७४ साउन १ गते देखि २०८१ चैत्र मसान्तसम्म अवकाश पाएका २५जना प्रधानाध्यापक तथा शिक्षकलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष उमेश प्रसाद यादवले उनीहरुलाई फूल–माला, अबिर, दोसल्ला तथा सम्मान–पत्रले सम्मानित गरिएको छ ।
पालिका अध्यक्ष यादवले शिक्षण पेशामा रहेर शिक्षकहरुले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै बाँकी जिवन समेत शैक्षिक उन्नयनमा विताउन आग्रह गरे । शिक्षक आफैमा सम्मानित पेशा भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि यादवले नयाँ पिँढीका शिक्षकहरु समेत अग्रजहरुबाट राम्रा कुराहरु सिक्नुपर्नेमा जोड दिए ।
सम्मानित अवकाशप्राप्त शिक्षकहरुको तर्फबाट गुञ्जेश्वर मण्डलले जीवनभरिमा आफुहरुको कमाइ नै सम्मान भएको बताए । पालिकाले शिक्षकहरुको योगदानलाई कदर गरेकोमा धन्यवाद व्यक्त गरे ।
उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख रामेन्द्रनाथ यादव, वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, कर्मचारी लगायतको उपस्थिति थियो ।
