विराटनगर, ६ भदौ । कोशी प्रदेश सरकारले सदनमा पेस गरेको “कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” को विरोधमा पत्रकारहरूले बुधबार संसद् भवन परिसरमै धर्ना दिएका छन् ।
निषेधित क्षेत्र मानिने प्रदेशसभा भवनको सभामुख प्रवेश गर्ने गेट अगाडि पत्रकारहरूले धर्ना दिँदा प्रहरीसँग केहीबेर घम्साघम्सी भएको थियो ।
संसदीय पत्रकार मञ्च कोशीले प्रदेशसभा परिसरमै धर्ना दिएको थियो भने नेपाल पत्रकार महासंघ कोशी प्रदेशले संसद् गेट अगाडि धर्ना आयोजना गरेको थियो । प्रहरीको हस्तक्षेपपछि पत्रकारहरूलाई भवन परिसरबाट बाहिर निकालिए पनि उनीहरूले संयुक्त रूपमा गेट अगाडि शान्तिपूर्ण धर्ना जारी राखेका थिए । त्यहाँ पनि प्रहरीले धकेलाधकेल गरेपछि केही समय तनाव पैदा भएको थियो ।
धर्नामा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जोङ, सचिव ध्रुव भट्टराई, सचिव अरविन्द मेहता, संसदीय पत्रकार मञ्च कोशीका अध्यक्ष कुमार लुइँटेल, प्रेस सेन्टर कोशीका महासचिव तथा संसदीय पत्रकार मञ्च कोशीका उपाध्यक्ष गोकुल पराजुली, प्रेस युनियनका पूर्व उपाध्यक्ष लिलाबल्लभ घिमिरे, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य अर्जुन आचार्य, प्रेस सेन्टर कोशीकी उपाध्यक्ष सुजता लिम्बू, समाजवादी प्रेस संगठनका उत्तम पोखरेल, फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठलगायतको सहभागिता थियो ।
उक्त विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भई शुक्रबार सभामा पेस भएको हो । पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखिएको भन्दै पत्रकारहरूले कडा आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ कोशी शाखाका अध्यक्ष खड्काले विधेयकमा प्रेस स्वतन्त्रता विरोधी धाराहरू समेटिएकाले सच्याउनुपर्ने बताएका छन् ।