वीरगञ्जमा हैजाका बिरामी, सतर्कता अपनाउन आग्रह

वीरगञ्ज, ७ भदौ । वीरगञ्ज महानगर–१२ मुरली टोलमा हैजाका बिरामी भेटिएका छन् ।

वीरगञ्ज महानगर र स्वास्थ्य कार्यालय पर्साले शुक्रबार रातिदेखि टोली परिचालन गरी उपचार र नियन्त्रण कार्य सुरु गरेका छन् । महानगर प्रमुख राजेशमान सिंहका अनुसार मुरली टोलका ३० भन्दा बढी पेटझरीका बिरामी वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना भएका छन् । परीक्षणका क्रममा १६ वर्षका किशोर, २४ वर्षका युवक र २४ वर्षकी महिलामा हैजाको जीवाणु कोलेरा भेटिएको छ । तीमध्ये एक किशोरको अवस्था गम्भीर छ ।

पानीका नमुना परीक्षणका लागि काठमाडौँस्थित टेकु प्रयोगशालामा पठाइएको छ । हाल स्वास्थ्यकर्मी टोली घर–घर पुगेर जनचेतना दिने काममा व्यस्त छन् । पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार वीरगञ्जमा करिब १० वर्षपछि हैजाको प्रकोप देखिएको हो ।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले आकस्मिक कक्षमा धेरै पेटझरीका बिरामी भर्ना भएको जनाउँदै “हैजा हुनसक्छ, तर आत्तिनुपर्ने छैन” भनेका छन् । उनले पिउने पानी उमालेर वा शुद्धिकरण गरेर मात्रै सेवन गर्न आग्रह गरेका छन् ।

महानगर प्रमुख सिंहले हैजा गम्भीर रोग भएकाले रोकथाममा लापरबाही नगर्न आग्रह गर्दै जनतालाई सावधानी अपनाउन अपिल गरेका छन् ।

प्रतिकात्मक तस्बिर ।

Author:



क्याटोगरी छान्‍नुहोस