जनकपुरधाम, १० भदौ । तराई–मधेशका जिल्लाहरूमा आज चौठचन्द्र अर्थात् चौरचन पर्व धूमधामका साथ मनाइँदैछ ।
भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्वमा व्रतालु महिलाले बिहानदेखि निराहार बसेर साँझ उदाउँदो चन्द्रलाई अर्घ दिने परम्परा रहिआएको छ । धार्मिक विश्वासअनुसार चन्द्रमाले भगवान् गणेशको रूप देखेर अपमान गरेका कारण श्रापित भएका थिए । पछि गणेशकै पूजापश्चात श्रापमुक्त भएका चन्द्रलाई यस दिन दर्शन गर्नेले पापमुक्त भई मनोकामना पूरा हुने जनविश्वास छ । यसैकारण यो पर्वलाई अपार श्रद्धाका साथ मनाइन्छ ।
जानकारहरूका अनुसार यो पर्व मिथिला नरेशबाट प्रारम्भ भएको मानिन्छ । मिथिला–मधेश क्षेत्रमा परम्परागत रूपमा पुस्तौँदेखि चौरचन मनाउँदै आइएको छ । यस दिन महिलाले लड्डु, खाजा, पुरी, खीर, पेरुकीया, खजुरिया लगायतका परिकारका साथै फलफूल निष्ठापूर्वक तयार गर्छन् । यसका साथै कुम्हारले बनाएको नयाँ माटाको भाँडामा दही जमाएर अर्पण गर्ने विशेष चलन छ ।
यस पर्वको अर्को विशेषता भनेको परिवारका सदस्य मात्र नभई पशुपक्षीको नाममा समेत पूजा गर्ने परम्परा हो । व्रतालु महिलाले आँगनमा अरिपन (चौका) लगाएर विभिन्न पकवान सजाएर राख्छन् । साँझ उदाउँदो हसिया आकारको चन्द्रलाई अर्घ दिएपछि ती परिकार चन्द्रलाई समर्पण गरिन्छ र त्यसपछि प्रसादका रूपमा परिवारले ग्रहण गर्ने चलन छ ।
स्थानीय भाषामा ‘मड़र’ भनिने पिँढीमा पूजा पश्चात् परिवार पुरुष बस्ने परम्परा रहेको छ । यद्यपी महिला–पुरुष समानताको बहस चलिरहेका बेला यस चलनलाई परिमार्जन गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ । pic credit: Rinku Mishra Gayatri