शरिर जलेको अवस्थामा भेटिए रुबी हत्याका मुख्य आरोपी लक्ष्मण (भिडियाे)

रौतहट, ११ भदौ । रौतहटमा सुटकेसभित्र मृत फेला परेकी रुबी साहको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी लक्ष्मण पासवान शरिर जलेको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणी गिरीका अनुसार बुधबार बिहान करिब साढे ६ बजे माधवनारायण नगरपालिका–६ माधोपुरस्थित बगैंचामा पासवान पेट्रोल छर्केर आफैंलाई आगो लगाउने क्रममा गम्भीर घाइते अवस्थामा भेटिएका हुन् । आत्मदाह गर्न लागेको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएर उपचारका लागि गरुडास्थित अस्पतालमा भर्ना गरिएको छ ।

घटनास्थल अनुगमनका क्रममा प्रहरीले पासवानको शरीरमा व्यापक चोटपटक र जलन देखिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उनले प्रहरी अनुसन्धान र कानुनी कारबाहीबाट बच्न आत्मदाहको प्रयास गरेको हुनसक्ने अनुमान गरिएको छ ।

गत शनिबार गौर बजार जाने भन्दै डेराबाट निस्किएकी करिब ३० वर्षीया रुबी साहको शव सुटकेसभित्र प्याक गरिएको अवस्थामा भेटिएको थियो । शव फेला परेपछि प्रहरी अनुसन्धानका क्रममा पासवानलाई प्रमुख अभियुक्तका रूपमा पहिचान गरिएको थियो ।

प्रहरीले यसअघि घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिहरुको समेत अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले घटनालाई संवेदनशील ठानी थप तथ्य संकलन भइरहेको र पासवानको स्वास्थ्यमा सुधार भएपछि विस्तृत बयान लिने तयारी गरेको बताएको छ ।

भिडियाे: सामाजिक सञ्जाल 

Author:



क्याटोगरी छान्‍नुहोस