काठमाडौं । गत असार १८ र १९ गतेको अविरल वर्षाका कारण देशका विभिन्न प्रदेशहरूमा बाढी, पहिरो, चट्याङ र सडक दुर्घटनाका घटनाले ठूलो मानवीय क्षति पुर्याएको छ।
सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार दुई दिनको अवधिमा देशभर ४९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् र ७ जना अझै बेपत्ता छन्। विपत्तिबाट कोशी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। उक्त प्रदेशको इलाम जिल्लामा बाढीपहिरोका कारण ३७ जनाको मृत्यु भएको छ। सोही घटनामा ७ जना घाइते र १ जना बेपत्ता रहेका छन्। निरन्तर वर्षाका कारण जिल्लाका सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध बनेका छन्।
त्यसैगरी, पाँचथरमा गाडी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। उदयपुरमा बाढीपहिरोका कारण २ जनाको मृत्यु र १ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ। खोटाङमा चट्याङका कारण १ जनाको मृत्यु र ३ जना घाइते भएका छन् भने भोजपुरमा चट्याङबाट २ जना घाइते भएका छन्।
मधेश प्रदेशमा पनि चट्याङ र बाढीको प्रभाव परेको छ। रौतहटमा चट्याङबाट ३ जनाको मृत्यु भएको छ। बारामा बाढीले बगाएर १ जना बेपत्ता भएका छन्।
बागमती प्रदेशमा रसुवा र काठमाडौंमा पनि बाढीले जनधनको क्षति पुर्याएको छ। रसुवामा ४ जना बेपत्ता भएका छन् भने काठमाडौंमा पनि बाढीले १ जना बेपत्ता बनाएको छ। मकवानपुरमा चट्याङ लागेर १ जना घाइते भएका छन्।
विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको सशस्त्र प्रहरी बलले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र स्थानीय निकायका टोलीहरू प्रभावित क्षेत्रहरूमा खटिइरहेका छन्। विस्थापित परिवारहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको छ।
गृह मन्त्रालयले सबै नागरिकलाई सतर्क रहन आग्रह गर्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्राथमिकतामा राखिएको जनाएको छ। मन्त्रालयले मृत्यु भएकाहरूका परिवारलाई क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार र बेपत्ता खोजीमा सबै संयन्त्र परिचालन गर्न निर्देशन जारी गरेको छ।
विपद् जोखिम व्यवस्थापन प्राधिकरणले पनि देशका धेरै ठाउँमा अझै वर्षा जारी रहन सक्ने पूर्वानुमान गर्दै नदी किनार, खोल्सोछेउ र पहिरो सम्भावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सतर्क रहन आग्रह गरेको छ। Pic. Malangawa Sarlahi Page