
राेशन जनकपुरी
यो सात जना शहीदहरूको स्मारक हो—उनीहरू सबै जनकपुरका थिए । नेपाली जनताको यी साहसी सन्तानहरूले माओवादी जनयुद्धमा शहादत दिएका थिए । हामीले पाएको यो गणतन्त्र त्यही शहीदहरूको बलिदानको परिणाम हो ।
तपाईंलाई सम्झना छ कि छैन ? माओवादीहरूले नयाँ जनवादी राज्य—अर्थात् उत्पीडित वर्ग र जनसमुदायको अधिनायकत्व स्थापनाका लागि संघर्ष गरेका थिए । तर अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र वास्तवमा दलाल पुँजीपति र नौकरशाही वर्गको वर्चस्वमा रहेको राज्य सत्ता हो । त्यही मकडजालमा फसेर माओवादीहरू पनि सत्तालोभमा परे र आफ्नै लक्ष्य बिर्सेर गैरजनवादी दलहरूसँग प्रतिस्पर्धामा सन्तुष्ट भएका छन् । जबकि उनीहरूले आफ्ना राजनीतिक उद्देश्यअनुसार काम गर्नुपर्ने थियो ।
चौध वर्षअघि जनकपुरको देवीचोकमा यी सात शहीदहरूको स्मारक निर्माण सुरु गरिएको थियो । तर आजसम्म पनि त्यो शहीद स्मारक शहीदहरूको सपना जस्तै अधुरो र उदास उभिएको छ । अब त त्यसतर्फ कसैको ध्यान पनि छैन ।
दस वर्षे माओवादी जनयुद्धमा जनकपुरको योगदान:
सरकारी प्रहरी र सेनाको संयुक्त कमान्डद्वारा २०६० असोज २१ गते कटैया चौरीबाट पक्राउ गरी निर्मम हत्या गरिएकाः
– दुर्गेश लाभ (जनकपुरधाम–१०)
– संजीव कुमार लाभ ‘दीपू’ (जनकपुरधाम–१०)
– जितेन्द्र झा ‘माछली’ (जनकपुरधाम, मुरलीचोक)
– प्रमोद मण्डल (जनकपुरधाम, कुर्था)
– शैलेन्द्र यादव (दुहवी कर्माही)
२०६० असोज २५ गते रामानन्द चौक नजिक मनोज दत्तको घरबाट पक्राउ गरी हत्या गरिएकाः
– मनोज दत्त ‘कन्हैया’ (जनकपुरधाम–९, साकेतनगर)
– रामचन्द्र लाल (नगराइन नगरपालिका)
यी सात शहीदमध्ये कमरेड मनोज दत्त तत्कालीन नेकपा (माओवादी)का जिल्ला सचिवालय सदस्य तथा एरिया इन्चार्ज थिए । कमरेड रामचन्द्र लाल पार्टी कमिटी सदस्य, कमरेड दुर्गेश लाभ वाईसिएल नगर संयोजक, कमरेड दीपू (संजीव लाभ) वाईसिएल नगर सचिव र अन्य सदस्यहरू पनि वाईसिएलसँग आवद्ध थिए ।
प्रहरी र सेनाको तत्कालीन संयुक्त कमान्डले उनीहरूलाई गोली हानेर हत्या गरेपछि गोदारस्थित एउटा खेतमा गाडिएको तथ्य पछि अनुसन्धानबाट खुल्यो । सम्झनुहोस्—यो गणतन्त्र र संघीयता अहिल्यै आफैं आएको होइन ।
शहीदहरूको बलिदानमाथि गर्व गर्न, त्यो क्रान्तिकारी चेतनाको स्मरण गर्न आवश्यक छ ।
किनभने जनयुद्ध र शहीदहरूको सपना अझै अधुरो छ । यो गणतन्त्र अझै मेहनतकश वर्गको हुन सकेको छैन ।
युवापुस्ताले आफ्ना पुर्खाहरूको संघर्ष र जनहितका लागि गरिएको आत्मोत्सर्गको इतिहास सम्झनुपर्छ । विशेष गरी मजदुर, किसान, गरिब उत्पीडित वर्ग र समुदायले सम्झनुपर्छ—जसले राज्यसत्ता निर्माणको सपनाका लागि शहादत दिएका थिए ।
जनताको ती सर्वोत्तम र महान सन्तानहरू प्रति हार्दिक श्रद्धाञ्जली । लाल सलाम महान शहीदहरूलाई ! Source: facebook(मैथिलीबाट नेपाली अनुवाद)