राजविराज । नेपाल पत्रकार महासंघ सप्तरीले तिहार र छठ पर्वको अवसरमा शुक्रबार राजविराजमा शुभकामना आदानप्रदान तथा ‘बर्तमान अवस्थामा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा वक्ताहरूले राज्यका तीनै तहका सरकारले पत्रकारिताको सुदृढीकरण र सुरक्षाप्रति उदासीनता देखाएको भन्दै एकताबद्ध खबरदारीको आवश्यकता औंल्याए।
मधेश प्रदेश आम सञ्चार प्राधिकरणका पूर्व अध्यक्ष श्यामसुन्दर यादवले शासन व्यवस्थाको परिवर्तनमा पत्रकारहरूले ऐतिहासिक भूमिका खेले पनि हाल सरकारले पत्रकारितालाई जीवन्त राख्ने इच्छाशक्ति नदेखाएको टिप्पणी गरे। उनले पत्रकारहरूलाई आत्मअनुशासन र आचारसंहिताको दायराभित्र रही काम गर्न सुझाव दिए।
कार्यक्रमका अन्य वक्ताहरूले सरकारको बेवास्ता र पेशागत सुरक्षाको कमीले सञ्चार माध्यम संकटमा परेको बताउँदै, पत्रकारहरूको हकहितका लागि सामूहिक दबाब आवश्यक रहेको उल्लेख गरे। उनीहरूले अनुशासनहीनताका कारण पत्रकारिता पेशा बदनाम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै महासंघले संयमित र मर्यादित पत्रकारितालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा महासंघका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा प्रदेश उपाध्यक्ष अम्विका दाहाल, पूर्व अध्यक्षहरू विष्णु कुमार मण्डल, वैद्यनाथ झा, मुरली प्रसाद यादव, वरिष्ठ पत्रकार अनिल कुमार अनल लगायतले विचार व्यक्त गरे। सहसचिव डम्बर राईले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष रामनारायण विश्वासले स्वागत मन्तव्य र उपाध्यक्ष सुधा देवले धन्यवाद ज्ञापन गरे।