काठमाडौँ । गृह मन्त्रालयले जेनजी पुस्ताको नाममा भइरहेका धर्ना र प्रदर्शनबारे ध्यानाकर्षण जनाउँदै अनावश्यक आन्दोलनका गतिविधि नगर्न आग्रह गरेको छ।
मन्त्रालयले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन सरकार पूर्ण रूपमा सक्रिय रहेको जनाएको छ। गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति र समूहका नाममा प्रदर्शन र जुलुसका कार्यक्रमहरू सार्वजनिक हुँदै गएको उल्लेख गर्दै त्यसप्रति गम्भीर चासो व्यक्त गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “देशमा अस्थिरता ल्याउन खोज्ने स्वार्थ समूहहरूले यस्ता कार्यक्रमहरूमा घुसपैठ गरी अशान्ति र अराजकता सिर्जना गर्न सक्ने सम्भावना भएकाले आयोजकहरू सचेत रहनु जरुरी छ।”
मन्त्रालयका अनुसार सरकार निर्वाचनसम्बन्धी कानुन संशोधन, स्रोत–साधन व्यवस्थापन र राजनीतिक दलहरूसँग संवादका प्रक्रियामा जुटिरहेको छ। विज्ञप्तिमा जनताको शान्तिपूर्वक जीवनयापन, सार्वजनिक सेवा सहज रूपमा प्राप्त गर्ने र स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिन सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
सरकारले सबैको जायज माग र चासोलाई सम्बोधन गर्न वार्ता र संवादमै जोड दिएको बताउँदै यस्तो संवेदनशील समयमा धर्ना, जुलुस वा प्रदर्शनको सट्टा सहमति र संवादमार्फत् समाधान खोज्न सबै पक्षमा हार्दिक अनुरोध गरेको छ।
