राेशन जनकपुरी
पुराना पुस्ताका अभिभावकहरुले भन्छन्, राज्यसत्ताले भन्छ : काम गर्ने ठाउँमा राजनीतिको कुरा न गर ! हामीे भन्छौँ : ईमान्दारीपू्र्वक काम गर, तर श्रमजीवी वर्ग तथा सम्पूर्ण उत्पीडित समुदायको हित र सबैखाले शोषणबाट मुक्तिको निम्ति एकजुट होउ, राजनीति गर, राजनीतिक संघर्ष गर !
राज्यसत्ता चलाख छ । उसले सत्ताधारी वर्गको हित र वर्चस्वको निम्ति राजनीति गर्छ, र तिमीलाई राजनीतिबाट अलग राख्न चाहन्छ । राजनीतिक चेतनाबाट अचेत हुनुको अर्थ अरुलाई आफूमाथि शासन गर्न अवसर दिनु हो । मजदुर, किसान, शोषित, उत्पीडित वर्ग र समुदाय ; युवा पुस्ता आदिले विचार गर्ने हो कि ?
सोभियत संघमा लेनिनले अभिजात्यवर्गीय सत्ताको विरुद्ध सर्वहारा श्रमजीवी वर्ग र उत्पीडित वर्गको राजनीति गरे । उनले नारा दिए : संसारका मजदूर उत्पीडित समुदायहरु एकजुट होउ ! उनले सर्वहारा समाजवादी क्रान्ति गरे र मानव इतिहासमा पहिलो पटक मजदूर वर्गको राज्यको स्थापना गरे । लेनिनले गरेको क्रान्ति ‘अक्टोबर क्रान्तिको नामबाट प्रसिद्ध छ ।

नोभेम्बर ७, १९१७ अक्टोबर क्रान्ति सफल भएको दिन हो। यसैदिन लेनिनले रुसलाई सोभियत समाजवादी राज्य घोषणा गरेका थिए। लेनिनले वर्तमान पुँजिवादी युगमा सबैखाले शोषणको मूल कारण निजी पूँजीलाई भने । समाजवादी राज्यको मूल उद्देश्य निजी पूँजीको समापन तथा सामूहिक सम्पदाको विकास भने । यसै आधारमा समाजवादबाट साम्यवादी विश्वको दिशामा संक्रमण गर्न सकिने मार्क्सवादी अवधारणालाई व्याख्या गरे ।
मजदूरहरु र उत्पीडित वर्ग र समुदायहरु जब एकजुट भएर आफ्नो हितमा ईमान्दारीपूर्वक राजनीति गर्छन् र संघर्ष गर्छन्, उनीहरु सफल हुन्छन् र मजदुर वर्गको राजनीतिक प्रतिनिधिको नेतृत्वमा समाजवादी राज्यको स्थापना गर्छन् भन्ने तथ्यको सटिक उदाहरण नोभेम्बर ७को दिन हो ।
सोभियत संघ अहिले इतिहास भैसकेको छ। यस बारे थुप्रै बहसहरु छन्। तर वर्तमान विश्वमा सबैतिरबाट हारेका, शोषित मजदुरहरु र उनको दु:ख अहिले पनि ज्वलन्त यथार्थ हो । वर्तमानको सबैभन्दा घातक समस्या के हो भने वर्तमानमा मजदूर वा श्रमजीविवर्गीय राजनीतिक बहस पूर्णरूपमा बहसबाट गायब छ । यद्यपि कम्युनिस्ट पार्टीहरु आफूलाई लेनिनवादी भन्न छाडेका छैनन्।
महान अक्टोबर क्रान्ति र नोभेम्बर ७ यी तमाम सैद्धान्तिक विभ्रम र तर्कको विरुद्ध मजदूरवर्गले राजनीति र संघर्ष गर्नुको प्रेरक स्मरणीय अवसर हो ।
महान अक्टोबर क्रान्ति _जिन्दावाद !