राेशन जनकपुरी

हिन्दीमा एउटा उखान छ : “हरि भजनको आए थे, ओटन लगे कपास” । नेपालमा कम्युनिस्ट आन्दोलनको अवस्था यस्तै छ। कहाँ साम्यवादको दर्शन, नयाँ जनवादी कार्यक्रम, समाजवाद र सर्वहारा क्रान्तिको कार्यदिशा सहित समाजको आमूल परिवर्तनको राजनीति ; र कहाँ संसदीय चुनावलाई नै अन्तिम सत्य मान्ने गरि सर्वहारा र श्रमिक वर्गको राजनीतिलाई पिठ्युँ देखाएर चुनावी जीतका निम्ति मध्यमवर्ग लोभ्याउने दाउपेच रच्दै कमरेडहरु । (चुनाव लड्नै हुँदैन भन्ने छैन, तर कार्यक्रम त श्रमिकवर्गीय हुनुपर्छ नि ! संसद एउटा अस्थायी मोर्चा हुनु पर्ने नि ! देखिएन ।)
कहाँ हँसिया हथौडाको विश्वव्यापी ऐतिहासिक वर्ग संघर्षमा श्रमिक वर्गीय क्रान्तिकारीगाथाको गौरव र गरिमा ; र कहाँ कमरेडहरु तारा, गुलाब र तिनपातेमा फुलबुट्टा भर्नमा व्यस्त देखिन्छन् र हँसिया हथौडा र सर्वहारा वर्गको उच्चारण गर्न समेतबाट उदासीन देखिन्छन् !
चुनावी जीतको लालसाले कमरेडहरु निर्वर्गीय हुँदै गै रहेका छन्। कमरेडहरु इतिहास सम्झेर सिंह झै गर्जना गर्छन्। तर सबै स्वांग झै देखिन्छ। सर्वहारावादी क्रान्तिकारी ओजको अभावमा कमरेडहरुको सिंह गर्जना म्याउँ झैँ सुनिन्छ। हुनपनि क्रान्तिकारी ओज क्रान्तिकारी संघर्षबाट जन्मन्छ। तर कमरेडहरु लफ्फाजीमा मात्र रमाइरहेका छन्।
वर्तमानको ठोस यथार्थ के हो भने अहिले सर्वहारा श्रमिक वर्ग, गरिब र उत्पीडित वर्गको प्रतिनिधित्व गर्ने कुनै राजनीतिक संगठन छैन । संसद बाहिर केही राजनीतिक शक्तिहरू छन्, जस्ले दावी त गर्छन्, तर उनीहरुसँग पनि श्रमिक वर्गको निम्ति कुनै कार्यदिशा र कार्यक्रम छैन। वस्तुतः वर्तमानको ठोस विश्लेषण गरेर वर्ग संघर्षको बोधसहित सर्वहारा श्रमिक वर्ग र उत्पीडित समुदायको राजनीतिक कार्यदिशा सहितको राजनीतिक दलको आवश्यकता छ र यो श्रमिक, किसान र उत्पीडित समुदायको बिचबाट नै निर्माण हुनुपर्छ।
सबै वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु छन्, । मजदूर र किसानहरुको छैन। मजदुर, किसान र गरिबको प्रतिनिधित्व गर्ने पार्टी खुल्ला एजेन्डा सहित हुनुपर्छ। वस्तुतः बहुसंख्यकको पार्टी यो नै हुनेछ।
सर्वहारा र मजदुरवर्गको क्रान्ति र राजनीतिक विषयलाई अफ डेटेड भन्ने एउटा बौद्धिक भाष्य प्रचलित छ । तर यस प्रश्नको जवाफ कसैले दिन चाहँदैन _ देशको राजनीतिक सत्तामा मजदूर, किसान र उत्पीडित समुदायको समानुपातिक हिस्सेदारी किन छैन ? र छैन भने यस्तो प्रष्ट एजेन्डा सहितको पार्टी किन छैन ?
सोँचौँ, विचार गरौँ ।
मजदूर र उत्पीडित समुदायहरु एकजुट होउँ !
Spurce: facebook