जनता दल (युनाइटेड) का अध्यक्ष नितीश कुमारले बिहीबार पट्नामा आयोजित भव्य समारोहमा दसौँपटक बिहारका मुख्यमन्त्रीको रूपमा शपथ लिएर नयाँ इतिहास रचेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का वरिष्ठ नेताहरूको विशेष उपस्थितिले समारोह झनै महत्वपूर्ण बनाएको थियाे। सन् २०२० को शपथग्रहणमा पनि प्रधानमन्त्री मोदी सहभागी भएका थिए, तर यसपटक उनको उपस्थितिले कार्यक्रमको मुख्य आकर्षण बनेको थियाे।
गान्धी मैदानमा ऐतिहासिक शपथग्रहण सम्पन्न भएकाे हाे । जहाँ नितीश कुमारले यसअघि २००५, २०१० र २०१५ मा पनि सरकार गठनको घोषणा गरेका थिए। यही स्थान १९७४ मा जयप्रकाश नारायणले ‘पूर्ण क्रान्ति’ को आह्वान गरेको ऐतिहासिक पृष्ठभूमिका कारण विशेष महत्व रहेकाे छ।
कार्यक्रममा एनडीएद्वारा शासित विभिन्न राज्यका मुख्यमन्त्रीहरु हरियाणाका नायब सिंह सैनी, आसामका हिमन्त विश्व शर्मा, नागाल्याण्डका नेफियू रियो, आन्ध्र प्रदेशका एन. चन्द्रबाबु नायडू, उत्तर प्रदेशका योगी आदित्यनाथ र उत्तराखण्डका पुष्कर सिंह धामी लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
बिहारका राज्यपाल आरिफ मोहम्मद खान तथा एलजेपीका नेता चिराग पासवानलगायतका प्रमुख नेताहरू पनि सहभागी भएका थिए।
यसअघि बुधबार बसेको नयाँ विधायक दलको बैठकमा जेडीयूले सर्वसम्मतिले नितीश कुमारलाई दलको नेता चयन गरेको थियो। त्यसपछि एनडीए विधायक दलले पनि उनलाई सर्वसम्मतिले नेता बनाउँदै सरकार गठनको मार्ग खुला गर्यो। उता, भाजपा विधायक दलको बैठकले सम्राट चौधरीलाई नेता र विजय कुमार सिन्हालाई उपनेता चयन गरेको थियो।
यसपटक एनडीएले २४३ मध्ये २०२ सिट जित्दै ऐतिहासिक बहुमत हासिल गरेको छ, जबकि महागठबन्धन ३५ सिटमा सीमित रह्यो। नोभेम्बर ६ र ११ मा दुई चरणमा सम्पन्न चुनावमा ६७.१३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।समाचार एजेन्सी
pic. AI