राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरी मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका–५ का सितल मण्डल र राजन कुमार साह रहेका छन्। उनीहरूलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो। ‘चोरी’ मुद्दामा दोषी ठहर गर्दै सप्तरी जिल्ला अदालतले मण्डललाई २ महिना ८ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना, तथा साहलाई २ महिना ८ दिन कैद सजाय सुनाएको थियो। फैसला पछि दुबैजना फरार रहेकाले उनीहरूलाई लामो समयदेखि प्रहरीले खोजतलास गरिरहेको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय बोदेबर्साइनको संयुक्त टोलीले खोजीका क्रममा उनीहरूलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए।