एनपिएलः जनकपुर बोल्ट्सको पहिलो जीत, चितवन राइनोज ६ विकेटले पराजित

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जीत दर्ता गरेको छ।

लगातार चार खेलमा हार ब्यहोरेको जनकपुरले आजको जितसँगै दुई महत्वपूर्ण अंक जोड्न सफल भयो। टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रनको प्रतिस्पर्धी योगफल बनायो। ओपनर डेविड मलान र अर्जुन साँउदले उत्कृष्ट प्रदर्शन गर्दै शतकीय साझेदारी गरे। मलानले ८० रन र अर्जुनले ५२ रन बनाउँदै टोलीलाई मजबुत अवस्थामा पु¥याए। दुवैले पहिलो विकेटका लागि ११२ रनको साझेदारी जोडे।

जनकपुरका बलर अनिल साह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले एक–एक विकेट लिएका थिए।

१७७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको जनकपुरले १७.३ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। माज सदाकत र अनिल साहको अर्धशतकीय योगदान जितको मुख्य आधार बन्यो। माजले ६३ रन तथा अनिलले ६१ रन बनाए। दुवै खेलाडीले दबाबपूर्ण परिस्थितिमा संयमित खेल प्रदर्शन गरे।

चितवनका कमलसिंह ऐरी, साहिल तनवीर र अमरसिंह रौटेलाले एक–एक विकेट हात पारे।

जनकपुरका ब्याटर अनिल साहले २८ बलमा तीन छक्का र दुई चौकासहित अर्धशतक प्रहार गर्दै शानदार खेल प्रदर्शन गरे। दोसर संस्करणको एनपिएलमा दर्ता भएको यो २५औँ अर्धशतक हो। अनिल प्रतियोगितामा अर्धशतक प्रहार गर्ने २१औँ खेलाडी समेत बनेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस