राजविराज । सप्तरीको राजविराजमा सञ्चालित अपन पोडकास्ट परिवारद्वारा शनिवार सरसफाइ तथा फूलको विरूवा रोपिएको छ ।
पोडकास्टका सञ्चालकद्वय लोकेन्द्र साह र महफुज आलमको पहलमा राजविराजस्थित राजरंगशाला खेल मैदान र कल्टु दास पोखरीमा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो । स्थानीय युवाहरूको सक्रिय सहभागितामा सरसफाइ गरिएको अपन पोडकास्टका सञ्चालक लोकेन्द्रले जानकारी दिएका छन् ।
फोहोर मैला व्यवस्थापन एवम् वातावरण संरक्षणलाई ध्यानमा राख्दै विभिन्न स्थानमा डस्टबिन राख्नुका साथै फोहोर सन्देश प्रवाह गरिएको छ । केही स्थानमा गमलामा फूल रोपेर सौन्दर्यीकरणको समेत जनमानसमा सन्देश प्रवाह गरिएको छ ।
उनका अनुसार शनिवारै गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीहरूलाई फलफूल समेत वितरण गरिएको छ । आफू जन्मेको ठाउँलाई सफा, सुन्दर एवम् हराभरा बनाउनका लागि सामान्य प्रयास थालिएको पोडकास्टका सञ्चालक लोकेन्द्रले बताए । आगामी दिनमा समेत आफूहरुले भ्याएसम्म निरन्तरता दिने अर्का सञ्चालक महफुजले प्रतिवद्धता व्यक्त गरेका छन् ।
