जागिरमा झुट बोलेर बसेको दिन

निता थापा

निता थापा

सधैँझैँ आज पनि बिहान ५ बजेको अलार्मसँगै निद्रा खुल्यो।
उठेर बाथरुम, त्यसपछि मनतातो पानी।
निता थापा
एकछिन खाटमा ढल्केर मोबाइल हातमा लिँदै नयाँ के छ भनेर युट्युब, फेसबुक रिल्स र समाचार स्क्रोल गर्दै थिएँ।
तर आज एउटा समाचार बारम्बार आइरह्यो—
जुन हेर्दै जाँदा मन अत्यन्तै भारी बनायो।
बैंकको कर्मचारी लोन उठानका लागि लोन लिने व्यक्तिको घरमा पुग्दा
कुटपिट गरिन्छ,
कालोमोसो दलिन्छ,
दुर्व्यवहार गरिन्छ।
त्यो देखेर मनले सोध्यो—
हाम्रो समाज कता जाँदैछ?
लोन नपाउँदा त्यही बैंकमा गइ
कर्मचारीको कमरमुनि सुम्सुम्याउने,
बिन्ती–बिन्ती गर्ने,
र लोन पाएपछि नतिर्ने मात्र होइन,
त्यही कर्मचारीमाथि दुर्व्यवहार गर्ने—
यो कस्तो मानवता हो?
बैंक किन खलनायक बनाइँदैछ?
आफूले सहमति गरेर, कागजमा सही गरेर लिएको पैसाको जिम्मेवारी नलिने
र दोष बैंकलाई दिने—
यो कस्तो निर्दयता हो?
बैंकले पनि कसैबाट पैसा लिएर,
केही मार्जिन राखेर मात्र लोन दिएको हुन्छ।
त्यो बैंक कुनै व्यक्तिको व्यक्तिगत शत्रु होइन,
यो त प्रणाली हो—देशको अर्थतन्त्र चलाउने मेरुदण्ड।
आज खुलेआम
“लोन नतिर्नु”,
“सहकारी र लघुवित्तको पैसा नदिनु”
भन्ने अभिव्यक्ति दिने व्यक्तिहरू
भोलि आफैँ व्यवसायी बन्छन्,
आफ्नो लगानी डुब्छ भने के गर्लान्?
जो–कोहीले पनि
आफूसँग भएको सबै सम्पत्ति लगानी गरेर व्यवसाय सुरु गर्छ।
त्यही व्यवसाय यस्ता अराजक सोच र हिंसाले ध्वस्त पार्छ।
कल्पना गरौँ—
यदि बैंक तथा वित्तीय संस्थाले १५ दिन सेवा ठप्प पारे भने
देशको अवस्था के हुन्छ?
स्कुलमा पढाउन जाने शिक्षकलाई
विद्यार्थीले गाली गर्ने,
दुर्व्यवहार गर्ने,
पढेन भने पनि सबै दोष शिक्षकको—
यो कति अन्यायपूर्ण सोच हो।
बैंक, स्कुल, अस्पताल, सहकारी—
यी सबै संस्था
कर्मचारीको पसिनाले चलेका छन्।
यदि नियम र कानुनको दायराभित्र बसेर काम गरिरहेका कर्मचारीमाथि
जो–कोहीले दुर्व्यवहार गर्छ भने
हदैसम्मको कारबाही हुनैपर्छ—
बैंक होस् वा लोन लिने व्यक्ति।
यो लेख
बैंक कर्मचारी मात्र होइन,
स्कुलका शिक्षक,
अस्पतालका स्वास्थ्यकर्मी,
र हरेक संस्थामा काम गर्ने
इमानदार कर्मचारीको पीडा हो।
आज यदि हामी मौन बस्यौँ भने
भोलि
कुनै पनि पेशा सुरक्षित रहने छैन।

Author:



क्याटोगरी छान्‍नुहोस