राजविराज । सामाजिक सञ्जालमा हिन्दु धर्मविरुद्ध आपत्तिजनक टिप्पणी गर्ने अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि राजविराजमा जारी सङ्घर्षका कार्यक्रम स्थगन भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा शुक्रबार साँझ भएको सर्वपक्षीय वार्ता तथा सहमती पश्चात आन्दोलन स्थगित गरिएको हो । सर्वपक्षीय बैठकमा अफरोज आलमले आफ्नो अभिव्यक्तिप्रति गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका छन् । आलमले माफीपछि हिन्दु सम्राट सेना सप्तरी र बजरङ्ग दल सप्तरीले जारी आन्दोलन तत्काल स्थगन गरिएको जनाइएको छ ।
आलमले सार्वजनिक रूपमा माफी माग्ने, आन्दोलनका सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गर्ने, कुनै पनि धर्म, संस्कृति वा आस्थालाई चोट पु¥याउने किसिमका टिप्पणी सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट नगर्ने तथा भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुनअनुसार कारवाही अघि बढाइने सहमति भएको छ ।
हिन्दुका देवीदेवता एवम् धार्मिक आस्थालाई लक्षित गरी अपशब्द र अपमानजनक टिप्पणी गर्नेलाई कार्वाही हुनुपर्ने लगायतका माग राख्दै विहानैदेखि प्रदर्शन जारी राखेका थिए । शुक्रवार राजविराज बजार बन्द गराइएको थियो ।
प्रदर्शनकारीहरुले राजविराजको विभिन्न चोक तथा सार्वजनिक स्थानहरुमा टायर बालेर विरोध प्रदर्शनलाई निरन्तरता दिएका थिए । सहमती पश्चात राजविराजको अवस्था सामान्यतर्फ उन्मुख हुँदैगएको छ ।