राजविराज उच्च अदालत बार एशोसिएशनद्वारा पुस्तकालय स्थापना तथा सम्मान

राजविराज । राजविराज उच्च अदालत बार एशोसिएशनले आफ्नो नव–निर्मित बार भवनको एक कक्षमा विधिवत रूपमा पुस्तकालय स्थापना गरेको छ ।
कानुनी अध्ययन, अनुसन्धान तथा बौद्धिक गतिविधिलाई सुदृढ गर्ने उद्देश्यले स्थापना गरिएको पुस्तकालयको उद्घाटन पुस्तकालयका लागि सर्वाधिक पुस्तक सहयोग प्रदान गरेका बरिष्ठ अधिवक्ता हिम्मत सिंहले गरे । पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरूले यसले बारका सदस्यहरू, कानुन व्यवसायी तथा कानुनी विद्यार्थीहरूलाई अध्ययन–अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको दोस्रो सत्रमा नेपाल बार एशोसिएशनका केन्द्रीय अध्यक्ष तथा बरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्रको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा विद्यावारिधि (PhD) उपाधि हासिल गरेका बरिष्ठ अधिवक्ता देव नारायण यादवलाई विशेष सम्मान प्रदान गरिएको छ । साथै अधिवक्ताहरू शिव नारायण यादव, अयोधी प्रसाद यादव, ललित कुमार यादव, सर्वेश चन्द्र मिश्र, हेम कुमार मिश्र, चिरञ्जीवी लाल देव र सन्तोष कुमार चमनलाई पनि सम्मानित गरिएको छ ।

त्यसैगरी सप्तरी जिल्लामा रहेर साहित्य सिर्जना तथा पुस्तक लेखनमार्फत योगदान पुर्‍याएका साहित्यकार ध्रुव कुमार भूजेल, मञ्जु श्रेष्ठ, डा. पिताम्बर लाल यादव र रामकृष्ण प्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । शिक्षण तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका प्रा. हरिकान्त दास र मुक्ति नाथ मण्डललाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।

सोही कार्यक्रममा २०८२ साल पौष ७ गते बार दिवसको अवसरमा रक्तदान गर्ने १० जना रक्तदातालाई प्रमाणपत्र तथा डोनर कार्ड वितरण गरिएको छ । कार्यक्रममा वक्ताहरूले ज्ञान, सेवा र सामाजिक उत्तरदायित्वलाई संस्थागत रूपमा अगाडि बढाउँदै लैजान बार एशोसिएशनको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस