दिपशिखा शर्मा

धेरैलाई लाग्ला चुनाव भनेको व्यक्तिलाई भोट हाल्ने मात्र हो तर लोकतान्त्रिक व्यवस्थामा दुई किसिमका चुनाव हुन्छन्। एउटा ‘प्रत्यक्ष’ (Direct) र अर्को ‘समानुपातिक’ (Proportional)।
अब सिधा भाषामा भन्नुपर्दा प्रत्यक्ष निर्वाचन प्रणालीमा एउटा क्षेत्रबाट एकजना उम्मेदवारले मात्र चुनाव जित्छ। तर समानुपातिक प्रणालीमा चाहिँ पार्टीले देशभरबाट जति ‘प्रतिशत’ भोट पाउँछ, संसदमा त्यति नै ‘प्रतिशत’ सिट पाउँछ।
उक्त प्रणालीलाई तलको उदाहरणबाट अझै प्रष्ट पार्न सकिन्छ मानौं एउटा ठूलो हलमा १०० वटा सिटहरु छन्।
१.प्रत्यक्ष चुनाव प्रणाली (Direct Election System ): यो एउटा ‘रेसिङ’ जस्तै हो। चुनावी क्षेत्रबाट जसले सबैभन्दा धेरै भोट ल्याउँछ, उसैले त्यो एउटा सिट जित्छ।
२.समानुपातिक (Proportional): यो चाहिँ पार्टीको ‘लोकप्रियता’ जस्तै हो। यदि कुनै पार्टीले देशभरबाट २०% भोट पायो भने, उसले त्यो हलको १०० मध्ये सिधै २० वटा सिट पाउँछ। कुनै पार्टीले अन्य पार्टीको तुलनामा पार्टीले जति धेरै भोट पाउँछ, उति धेरै सिट उसको भागमा पर्छ।
यसका मुख्य ३ विषेशताहरु यस प्रकार रहेका छन् :
१. व्यक्ति होइन, पार्टीलाई भोट: यसमा तपाईंले मान्छेलाई होइन, पार्टीको चुनाव चिह्न (जस्तै: घण्टी, सूर्य, रूख आदि) मा भोट हाल्न पाउनुहुन्छ।
२. देश नै एउटा क्षेत्र: देशभरका सबै भोट संकलन गरी एउटै डालोमा राखेर जोडिन्छ। कुनै एउटा पार्टीले अन्य पार्टीको तुलनामा देशभरबाट जति धेरै भोट पाउँछ उति धेरै सांसद बनाउन पाउँछ।
३.पहिले नै लिस्ट तयार: पार्टीले पहिले नै ११० जनाको नाम निर्वाचन आयोगमा बुझाएको हुन्छ । जसमा पार्टीले पाएको भोट अनुसार लिस्टको १ नम्बरबाट पालैपालो सांसद छानिने गरिन्छ।
किन गरिन्छ त यस्तो व्यवस्था ?
समावेशिताको लागि: पैसा र पावर नभएका तर समाजका लागि आवश्यक महिला, दलित, जनजाति र अल्पसंख्यकको आवाज संसदमा पुगोस् भनेर यो प्रणाली ल्याइएको हो।
भोटको कदर: प्रत्यक्ष चुनावमा हार्ने उम्मेदवारको भोट खेर जान्छ, तर समानुपातिकमा पार्टीलाई आएको हरेक भोटले सांसद छान्न मद्दत गर्छ।
कुनैपनि भोट ‘बेकार’ जाँदैन।
विज्ञ र नयाँ अनुहार: चुनाव लड्न नसक्ने तर देशका लागि भिजन भएका कलाकार, डाक्टर, वा विज्ञहरूलाई संसदमा ल्याउने यो एउटा सजिलो बाटो हो।
छोटकरीमा भन्नुपर्दा प्रत्यक्ष निर्वाचनमा उपयुक्त उम्मेदवार छानिने हो भने समानुपातिकमा पार्टीको लोकप्रियता र समाजको विविधता छान्नुपर्ने हुन्छ ।अब तपाईंहरु भन्नुहोस् नेपालमा दर्ता गरिएका पार्टीहरुले संविधानको मुल मर्म अनुसार समानुपातिक निर्वाचन प्रणालीको नियम पालना गरेका छन् त ?
