एकताबद्ध भएर अघि बढ्न नेकां नवनिर्वाचित सभापति थापाकाे अपील

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध भएर अघि बढ्न सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपील गरेका छन् ।

बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत थापाले विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको निर्णयलाई विधि, विधान र लोकतान्त्रिक प्रक्रियाको जीत भएको बताएका छन् । संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार आयोगले गरेको निर्णयप्रति आभार व्यक्त गर्दै उनले यसलाई नेपाली कांग्रेसमा सार्थक परिवर्तनको साझा प्रतिफलका रूपमा व्याख्या गरेका छन् ।

थापाले पार्टी अब व्यक्तिको चाहनामा होइन, आम सदस्यको चाहनामा चल्ने स्पष्ट गर्दै कांग्रेस आफ्ना मूल मूल्य, मान्यता र आदर्शमा फर्किएको दाबी गरेका छन् । विशेष महाधिवेशनमा सहभागी–असहभागी, सहमत–असहमत सबैलाई संयमित, जिम्मेवार र एकतावद्ध रहन आग्रह गर्दै उनले यसलाई जय–पराजयको विषय नभई विधि र विधानको विजय भएको बताएका छन् ।

प्रेस विज्ञप्तिमा उनले पूर्व सभापति शेरबहादुर देउवा लगायत पार्टीका सबै तहका नेताहरूले लोकतान्त्रिक निर्णयलाई सहज रूपमा स्वीकार गरी पार्टीलाई अगाडि बढाउन पूर्ण साथ दिने विश्वास व्यक्त गरेका छन् । आजदेखि पार्टीमा कुनै गुट नहुने र गुटगत भागबण्डा अन्त्य हुने घोषणा गर्दै थापाले केन्द्रीय नेतृत्वदेखि भुइँतहका कार्यकर्तासम्म सबैको हैसियत समान हुने बताए ।

कांग्रेसलाई आम जनताको सार्वजनिक पूँजीका रूपमा चित्रण गर्दै उनले आत्मालोचना र सुधारसहित रुपान्तरणको यात्रा सुरु भइसकेको उल्लेख गरेका छन् । अब पार्टी मूल्य र सिद्धान्त विपरीत कुनै सम्झौता नगर्ने र अप्राकृतिक गठबन्धनको राजनीति अन्त्य गर्ने संकल्प पनि व्यक्त गरिएको छ ।

अन्त्यमा थापाले लोकतन्त्र र समुन्नतिको यात्रामा साथ दिन सम्पूर्ण नेपाली जनसमुदाय, शुभेच्छुक तथा युवापुस्तालाई अपील गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली र अग्रज नेताहरूप्रति सम्मान प्रकट गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस