काठमाडौँ, ४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ। निर्वाचन आयोगको आज बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राष्ट्रिय समाचार समिति (रासस) लाई जानकारी दिनुहुँदै निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयनमा ल्याइएको बताउनुभयो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले निर्वाचनमा संलग्न सबै पक्ष—राजनीतिक दल, उम्मेदवार, सरकार, सरकारी निकाय, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा कर्मचारीहरूले पालना गर्नुपर्ने नियम र मापदण्ड समेटेर आचारसंहिता तयार गरेको हो।
आचारसंहिताको मुख्य उद्देश्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउनु हो। यसअनुसार अब सरकारले नयाँ कार्यक्रम घोषणा, ठूला आर्थिक निर्णय, सरुवा–बढुवा, सरकारी साधन–स्रोतको दुरुपयोग, प्रचार–प्रसारमा असन्तुलित व्यवहार जस्ता काम गर्न पाउने छैन। राजनीतिक दल र उम्मेदवारहरूले पनि तोकिएको खर्च सीमाभित्र रहेर मात्रै प्रचार गर्नुपर्ने, सरकारी गाडी, भवन, कर्मचारी प्रयोग गर्न नपाइने, भड्किलो सभा–समारोह नगर्नुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहिता कार्यान्वयनबारे जानकारी दिन आजै आयोगका पदाधिकारीहरूले मन्त्रिपरिषद् सदस्यहरू र उच्चपदस्थ सरकारी कर्मचारीहरूसँग विशेष अभिमुखीकरण तथा छलफल गर्ने कार्यक्रम रहेको छ। आयोगले सबै सरोकारवाला पक्षलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै उल्लङ्घन गरे कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।