राजविराज । जनमत पार्टीका अध्यक्ष सीके राउतले अब संसदीय राजनीतिमा सक्रिय नहुने घोषणा गरेका छन्। उनले आगामी निर्वाचनहरूमा पार्टीको तयारी र संगठन निर्माणमा भूमिका निर्वाह गर्ने तर आफू भने संसदीय चुनाव नलड्ने बताएका छन्।
प्राइम टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’सँगको अन्तर्वार्तामा राउतले यसपटकको निर्वाचनअघि नै आफूले जिते वा हारे पनि संसदीय राजनीतिबाट अवकाश लिने निर्णय गरेको बताएका हुन्। उनका अनुसार यस निर्णयको अर्थ पार्टीलाई अलपत्र पार्नु नभई नयाँ पुस्तालाई अवसर दिनु हो।
राउतले संसदमा आफ्नो प्रभावकारी उपयोगिता नरहेको महसुस भएको पनि बताए। त्यसैले अब प्रत्यक्ष वा समानुपातिक कुनै पनि प्रणालीबाट उम्मेदवार नबन्ने उनको स्पष्ट धारणा छ।
उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि आफूलाई उम्मेदवार बन्ने इच्छा नभएको स्मरण गरे। उनका अनुसार पार्टीका नेताहरू भक्तपुरमा बसेर समानुपातिक सूची तयार पारिरहेका बेला उनले आफूलाई उम्मेदवार नबनाउन आग्रह गरेका थिए। तर नेताहरूले उनको उम्मेदवारीले कार्यकर्ताको मनोबल उच्च हुने र पार्टीलाई फाइदा पुग्ने तर्क गर्दै उनलाई चुनाव लड्न आग्रह गरेका थिए। अन्ततः उनी अनिच्छा हुँदाहुँदै पनि निर्वाचनमा होमिएका थिए।