राष्ट्रिय पुँजी निर्माणमा जोड दिन अर्थमन्त्री खनालको आग्रह

काठमाडौँ, ४ चैत — अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मुलुकमा उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।

नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले हाल बैंकिङ प्रणालीमा ब्याजदर घटेको र पर्याप्त तरलता रहेको अवस्थामा उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गर्न उपयुक्त समय भएको बताए। निष्क्रिय पुँजीलाई सक्रिय बनाउँदै उद्योग, कृषि र पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनले विशेष जोड दिए।

उनले ठूला तथा दीर्घकालीन पूर्वाधार आयोजना अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता परियोजनामा सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमार्फत लगानी विस्तार भइरहेको जानकारी दिए।

अर्थमन्त्री खनालले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा असर पार्न सक्ने भन्दै मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सतर्क रहनुपर्ने बताए। साथै, समान प्रकृतिका आम्दानी तथा सामाजिक सुरक्षासम्बन्धी रकममा कर दर घटाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेले दीर्घकालीन आर्थिक विकासमा कोषको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उत्पादनशील क्षेत्रमा लगानी विस्तारका लागि विभिन्न बचत योजना प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी दिए।

Author:



क्याटोगरी छान्‍नुहोस