काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित समारोहमा सांसदहरूले संविधानप्रति निष्ठा र जनताप्रति उत्तरदायित्व रहने प्रतिबद्धता व्यक्त गर्दै शपथ लिएका हुन्।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभाको अध्यक्षता गर्दै नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका थिए। संसद् सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम मर्यादित र औपचारिक वातावरणमा सम्पन्न भएको छ।
सचिवालयका अनुसार ६३ जना सांसदले नेपालीबाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्, जसले देशको भाषिक तथा सांस्कृतिक विविधतालाई प्रतिबिम्बित गरेको छ। विभिन्न जातीय पहिचान झल्किने परम्परागत भेषभूषामा सजिएका सांसदहरूको उपस्थितिले समारोहलाई थप आकर्षक बनाएको थियो।
यसमध्ये मैथिली भाषामा शपथ लिने सांसदहरूको सूची पनि सार्वजनिक गरिएको छ। सप्तरीकी अंकिता ठाकुर, मोरङकी आशा झा, महोत्तरीका उज्जवल कुमार झा, कामिनी कुमारी र दिपक कुमार साह, सिरहाका तपेश्वर यादव र शम्भु कुमार यादव, सुनसरीका दिपक कुमार साह र निशा मेहता, सर्लाहीका नरेन्द्र साह कलवार, धनुषाका मनिष झा र मातृका प्रसाद यादव तथा सप्तरीका रामजी यादव र सीताराम साहले मैथिली भाषामा शपथ लिएका छन्।