विश्वका १०० प्रभावशाली व्यक्तिमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई विश्वप्रसिद्ध टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश गरेको छ।

म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व ‘हिप–हप’ कलाकारबाट नेपालको सबैभन्दा कम उमेरका प्रधानमन्त्रीसम्मको यात्रालाई विशेष रूपमा उल्लेख गर्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरंग ल्याउने नेतृत्वकर्ताका रूपमा चित्रण गरेको छ।

रिपोर्टमा उल्लेख गरिएअनुसार शाहको राजनीतिक उदय युवापुस्ताको व्यापक समर्थन र परम्परागत राजनीतिक दल तथा संरचनाप्रति बढ्दो असन्तुष्टिको परिणाम हो। उनले वैकल्पिक राजनीति र सुशासनको नारासहित जनतामाझ लोकप्रियता हासिल गरेका थिए।

काठमाडौँ महानगरपालिकाका प्रमुखका रूपमा कार्यरत रहँदा शाहले फोहोर व्यवस्थापन, शैक्षिक सुधार तथा स्वास्थ्य सेवामा देखाएको सक्रियता र नतिजामुखी कामको म्यागेजिनले विशेष चर्चा गरेको छ। स्थानीय तहमा उनले सुरु गरेका सुधारका प्रयासहरूले राष्ट्रिय राजनीतिमा उनको छवि मजबुत बनाउन सहयोग पुगेको जनाइएको छ।

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि पनि जनअपेक्षाअनुसार प्रभावकारी नेतृत्व प्रदान गर्ने चुनौती उनको सामु रहेको म्यागेजिनले औँल्याएको छ। नेपाली जनताले सुशासन, पारदर्शिता र दिगो विकासको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने अपेक्षा राखेको उल्लेख गरिएको छ।

शाहको यो अन्तर्राष्ट्रिय मान्यता नेपालका लागि गौरवको विषय भएको विश्लेषकहरूले बताएका छन्। यसले नेपालप्रति विश्व समुदायको चासो बढ्नुका साथै युवा नेतृत्वप्रतिको विश्वासलाई समेत बल पुर्‍याउने अपेक्षा गरिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस