दहेज लेनदेन मात्र होइत, भोज खानु पनि गलतः उपसभामुख ठाकुर

मधेशलाइभ । उपसभामुख रुवि कुमारी ठाकुरले समाजमा अझै विद्यमान दाइजो प्रथाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दहेजमुक्त विवाहको अभ्यासलाई व्यापक बनाउन आह्वान गरेकी छन्।

हालै आफूकहाँ विभिन्न विवाहका निमन्त्रणापत्रहरू प्राप्त भइरहेको उल्लेख गर्दै उनले तीमध्ये कुनैपनि कार्डमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट सन्देश नदेखिएकोप्रति दुःख व्यक्त गरिन्। यसले समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्ने उनले फेसबुकमा आफ्नो धारण राखेकी छिन् ।

उपसभामुख ठाकुरका अनुसार दाइजो लिनु र दिनु मात्र होइन, दाइजोमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। उनले यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुरयाउने बताइन्।

समाज परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै पहल आवश्यक रहेको उल्लेख गर्दै उनले सानो प्रयासले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने धारणा राखिन्। उनले दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी हुन असमर्थ रहने स्पष्ट पार्दै सबैलाई दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न आग्रह गरिन्।

विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश समावेश गर्न उनले सबैमा अपिल गरेकी छन्। दाइजोमुक्त समाज निर्माणका लागि सबैले सामूहिक रूपमा ठोस कदम चाल्नुपर्ने उनको धारणा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस