सीमामा कडाइ : सशस्त्र प्रहरीद्वारा १० लाखभन्दा बढीका अवैध कपडा बरामद

राजविराज । सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले निगरानी कडा बनाएसँगै ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएका लत्ताकपडा तथा मेसिनरी सामग्री बरामद गरेको छ। एकै रातमा गरिएको विशेष अपरेशनका क्रममा करिब १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका सामग्री नियन्त्रणमा लिइएको हो।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित सप्तकोसी नदीको बगर क्षेत्रमा लुकाइछिपाइ गरी बेवारिसे अवस्थामा राखिएका सामग्री सशस्त्र प्रहरीले फेला पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ती सामान भारततर्फको सीमावर्ती बजारबाट भन्सार छली गरी नेपाल भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ।

सशस्त्र प्रहरी बल नम्बर ६ गण मुख्यालयबाट खटिएको टोलीले सोमबार बिहान उक्त सामग्री बरामद गरेको हो। सशस्त्र प्रहरी निरीक्षक विकास श्रेष्ठको नेतृत्वमा रहेको ११ सदस्यीय मोबाइल टोलीले विशेष सूचनाका आधारमा अपरेशन सञ्चालन गरेको बताइएको छ। बरामद गरिएका लत्ताकपडा तथा मेसिनरी सामग्रीको अनुमानित मूल्य रु. १० लाख ९६ हजार २६० रहेको प्रहरीले जनाएको छ।

सीमाक्षेत्रमा पछिल्लो समय अवैध आयात–निर्यात तथा तस्करीका गतिविधि बढ्दै गएको भन्दै सुरक्षा निकायले निगरानी थप कडा बनाएको छ। सशस्त्र प्रहरीका अनुसार यस्ता अवैध कारोबार नियन्त्रण गर्न नियमित गस्ती, सूचनाको संकलन र आकस्मिक चेकजाँचलाई तीव्र बनाइएको छ।

बरामद गरिएको सम्पूर्ण सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी राजविराजस्थित भन्सार कार्यालयमा बुझाइएको छ। साथै, घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न खोजी तथा थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस