राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको उजुरीको आधारमा सोही गाउँपालिकाका एक सामाजिक अभियन्तालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।
विद्युतीय अपराध सम्बन्धी उजुरीका आधारमा रुपनी गाउँपालिका–१ निवासी राजु जयसवाल भनिने किरणकुमार जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय रुपनीले मंगलबार चलानी नम्बर ३८९ को पत्रमार्फत उनलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको थियो । उक्त पत्रकै आधारमा उनी बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय पुगेका थिए । कार्यालयमा आफै पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार राजु जयसवाल नामक फेसबुक आइडिबाट गाउँपालिका अध्यक्षको नाम तथा फोटो राखी समाजमा द्वेष फैलाउन अपमान गर्ने उद्देश्यले अश्लील भाषाहरु प्रयोग गरी पोष्ट अपलोड गरी अन्य व्यक्तिहरुलाई शेयर ट्याग समेत गरी शिष्टाचार विरुद्धका सामग्रीहरु पोष्ट गरी घृणा द्वेष फैलाएको भनी पालिका अध्यक्ष यादवले उजुरी दिएका छन् । सोही उजुरीका आधारमा नियन्त्रणमा लिई उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।