काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरकारले निजी सञ्चार माध्यमहरूमा सरकारी विज्ञापन रोक्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीले उक्त निर्णयलाई प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी परिपत्रअनुसार सरकारी सूचना अब केवल सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गरिने व्यवस्था गरिएको छ। यस निर्णयले निजी सञ्चार माध्यमहरूलाई कमजोर बनाउने उद्देश्य लिएको जसपा नेपालको ठहर छ।
पार्टीले लोकतन्त्रको महत्वपूर्ण स्तम्भका रूपमा रहेका निजी सञ्चार माध्यमहरूलाई आर्थिक रूपमा दबाबमा पार्ने प्रयासले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमा प्रत्यक्ष असर पर्ने जनाएको छ। साथै, सरकारी विज्ञापनबाट वञ्चित गरिनु स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्ने प्रयास भएको र यो लोकतान्त्रिक मूल्य तथा मान्यताविपरीत रहेको उल्लेख गरिएको छ।
जसपा नेपालले आर्थिक संकट झेलिरहेका निजी सञ्चार संस्थाहरूमा यस्तो निर्णयले थप समस्या निम्त्याउने, सञ्चार संस्था बन्द हुने र श्रमजीवी पत्रकारहरूको रोजगारी गुम्ने खतरा बढ्ने चेतावनी दिएको छ। यसले अन्ततः प्रेस सेन्सरशिपको अवस्था सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितामाथि गम्भीर असर पार्ने पार्टीको भनाइ छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेका छन्।