विष्णुपुर पालिकाले ३ करोडको लगानीमा बनायो सुविधा सम्पन्न विद्यालय भवन

राजविराज–सप्तरीको विष्णुपुर गाउँपालिकाले झण्डै ३ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरेको छ । वडा नम्बर ४ स्थित जनता माध्यमिक विद्यालय कनकट्टामा अध्ययरत विद्यार्थीका लागि सो भवन निर्माण गरेको हो ।

दुई करोड ९९ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको सुविधा सम्पन्न उक्त भवन शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष उमेशकुमार यादव र वडाध्यक्ष श्रीचन साहले संयुक्त रुपमा उक्त भवन उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै अध्यक्ष यादवले सुविधाका लागि हिसाबले उक्त भवन जिल्लाकै नमूनाका रुपमा रहेको दावी गरे । ‘म निर्वाचित भएदेखि नै शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छु’ उनले भने, ‘सोहीअनुसार कनकट्टा स्कुलमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गराए ।’

पालिकाभरिकै शिक्षाको अवस्था सुधार उन्मुख रहेको बताउँदै अध्यक्ष यादवले सबै बालबालिका शिक्षित भए मात्रै सभ्य समाज निर्माणमा टेवा पुग्ने बताए । उनले लगनशिल भएर पढ्न बालबालिकालाई आग्रहसमेत गरे ।

अढाई तल्ले उक्त भवनमा १० वटा कक्षाकोठासहित ‘मोर्डन शौचालय’ छ भने २ वटा कोठामा ‘एयर कन्डिसन’ र अन्यमा पंखा राखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस