संसद् कि एक अराजक कक्षाकोठा ?

निता थापा

​फुर्सदको समयमा टेलिभिजन वा मोबाइलको स्क्रिनमा चल्ने संसद्को लाइभ (वा रेकर्ड गरिएको) भिडियो हेर्दा अचेल लोकतन्त्रको सर्वोच्च मन्दिर हेरिरहेको भान हुँदैन। बरु, झट्ट सम्झना आउँछ—कुनै विद्यालयको एउटा यस्तो कक्षाकोठा, जहाँ केही सीमित बदमास विद्यार्थीहरू छन्, जसको काम नै केवल विरोधका लागि विरोध गर्नु हो। एउटा शिक्षकको नजरबाट हेर्दा, आजको संसद् र विद्यालयको त्यो चुनौतीपूर्ण कक्षाकोठामा म कुनै भिन्नता देख्दिनँ।

हरेक विद्यालयमा दुई-चार जना यस्ता विद्यार्थी हुन्छन्, जसलाई नियम, पद्धति वा विषयवस्तुसँग कुनै सरोकार हुँदैन। उनीहरूलाई जे कुरामा पनि असहमति जनाउनु छ, जस्तै राम्रो कुरामा पनि खोट लगाउनु छ र कक्षाको वातावरण अशान्त बनाउनु छ। आज हाम्रा माननीयज्यूहरूको व्यवहार ठ्याक्कै त्यस्तै देखिन्छ। देश र जनताका गम्भीर मुद्दाहरूमा केन्द्रित हुनुपर्ने ठाउँमा, जानेर-नबुझेर केवल ‘विरोधको लागि विरोध’ गर्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ। हरेक कुरामा विरोध मात्र होइन, समाधान खोज्ने परिपक्वता माननीयहरूमा कहिले आउला?

​यो अराजकताका बीच, हेडमास्टर वा कक्षा शिक्षकको भूमिकामा देखिनुहुन्छ—हाम्रा माननीय सभामुख। संसद्को त्यो रस्साकस्सी र कोलाहलका बीच सबैलाई मिलाउन खोज्ने, संसद्लाई गति दिन खोज्ने उहाँको प्रयास र उहाँको त्यो शालीन, निर्दोष (इनोसेन्ट) अनुहार देख्दा जो-कोहीको मनमा पनि दया र सहानुभूति जागेर आउँछ। एउटा शिक्षकले कक्षाका उद्दण्ड विद्यार्थीहरूलाई फकाउँदा, सम्झाउँदा र अनुशासित बनाउन खोज्दा जति धैर्यता चाहिन्छ, त्योभन्दा कयौँ गुणा बढी धैर्यता आज सभामुखमा देखिन्छ।

“जति सम्झाए पनि नसम्झिने माननीयहरू, अनि जति बिन्ती गर्दा पनि सदनमा नआउने हाम्रा प्रधानमन्त्री!” यो दृश्य देख्दा अहिलेको अवस्थामा सभामुखको ठाउँमा अरू कोही हुन्थ्यो भने सायद यो सभा चलाउनै सक्दैनथ्यो होला भन्ने भान हुन्छ। उहाँको त्यो अनुनय-विनय, त्यो विवशता र संसद्लाई बन्धक बन्न नदिने दृढता वास्तवमै मार्मिक छ। एकातिर नियम मिचेर कुर्सीबाट उठ्ने र कराउने सांसदहरूलाई थामथुम पार्नुपर्ने, अर्कोतिर सरकारको प्रमुखलाई सदनप्रति जबाफदेही बनाउन ‘बिन्ती’ गर्नुपर्ने—यो कस्तो बिडम्वना हो?

​विद्यालयमा त शिक्षकसँग विद्यार्थीलाई अनुशासनको दायरामा ल्याउने निश्चित नियम र अधिकार हुन्छन्, तर संसद् जस्तो गरिमामय ठाउँमा ‘माननीय’ भनिएका पाका नेताहरूलाई बालकलाई जस्तो सम्झाइरहनुपर्नु आफैँमा लज्जास्पद विषय हो।

​समय निकै सान्दर्भिक छ। देशले आर्थिक, सामाजिक र राजनीतिक रूपमा निकास खोजिरहेको बेला संसद्लाई रमिता बनाउने छुट कसैलाई छैन। अब पनि संसद्लाई एउटा अराजक कक्षाकोठा र आफूलाई बदमास विद्यार्थीका रूपमा प्रस्तुत गरिरहने हो भने, जनताको भरोसा यो व्यवस्थाबाटै उठ्न सक्छ। सभामुखको शालीनता र विन्तीलाई कमजोरी होइन, लोकतन्त्रको सुन्दरता ठानेर सबै माननीय र नेतृत्वले आत्मसमीक्षा गर्न जरुरी छ। संसद्मा विरोध होइन, अब साझा समाधान खोजौँ।

Author:



क्याटोगरी छान्‍नुहोस