ग्याष्ट्रिकबाट राहत पाउने उपाय

डा. सुष्मा साउद

भोक नलागी जबर्जस्ती खाने बानी हटाउनुहोस् । जब भोक लाग्छ जब मात्र खान खाने गर्नुहोस् । किनकि अघिल्लो खाना नपच्दै फेरि खाँदा पाचन प्रणालीमा भार पर्न सक्छ र अपच, ग्यास तथा पेट भारी हुने समस्या बढ्न सक्छ ।

दही, मोही (तक्र) वा पाचनमा सहयोग गर्ने हल्का खानेकुरा लिनुहोस् । किनकि यस्ता खानेकुराले पाचन प्रक्रियालाई सहज बनाउन र आन्द्राको स्वास्थ्य सन्तुलनमा राख्न मद्दत गर्छन् ।

बिहान १० बजे खानुभयो भने अर्कोपल्ट १ वा २ बजे मात्र खानुहोस् । दुईपल्ट खाँदा बीचमा कम्तीमा ३–४ घण्टाको अन्तर राख्ने गर्नुपर्छ । किनकि पाचन प्रक्रियालाई पूरा हुन समय आवश्यक पर्छ र बारम्बार खाँदा अपचको सम्भावना बढ्न सक्छ ।

धेरै तेल भएका, फ्राइ गरेका, प्रशोधित र धेरै चिसो खानेकुराहरू नखानुहोस् । यस्ता खानेकुरा पचाउन कठिन हुन सक्छ र पेट फुल्ने, ग्यास बन्ने तथा असहजता बढाउन सक्छन् ।

खाना राम्ररी चपाएर निल्ने गर्नुहोस् । यसो गरियो खाना साना टुक्रामा विभाजित हुन्छ र पाचन प्रक्रिया सजिलो हुन्छ ।

खाना खाइसकेपछि थोरै सौंफ (Fennel) चपाउने गर्नु राम्रो हुन्छ । सौंफले पेट फुल्ने, ग्यास बन्ने र अपचको असहजता कम गर्न सहयोग पुर्‍याउन सक्छ ।

दिनमा १–२ पटक अदुवा वा जिराको तातो चिया पिउने गर्नुहोस् । अदुवा र जिराले पाचन प्रक्रियालाई सक्रिय बनाउन र पेटको असहजता कम गर्न मद्दत गर्न सक्छन् । तर ध्यान दिनुहोस् पायल्सको समस्या भएकाहरूलाई उष्ण प्रकृतिको अदुवा अनुकुल हुँदैन ।

धेरै चिसो पानी र आइसयुक्त पेय पिउनबाट जोगिनुहोस् । अत्यधिक चिसो पेयले केही व्यक्तिमा पाचन प्रक्रिया सुस्त बनाउने र असहजता बढाउने सम्भावना हुन्छ ।

खाना खाँदा थोरथोरै तातो पानी पिउने गर्नु राम्रो मानिन्छ । यसले खाना निल्न र पाचन प्रक्रियालाई सहज बनाउन मद्दत गर्न सक्छ ।

पेट फुलेको महसुस भएमा तातो पानीमा सौंफ वा अदुवा प्रयोग गर्नुहोस् । यिनले पेटमा जमेको ग्यासका कारण हुने असहजता कम गर्न सहयोग पुर्‍याउँछन् ।

तनाव (Stress) कम गर्ने र पर्याप्त निद्रा लिने गर्दा पेटमा ग्यासको समस्या कम हुन्छ । मानसिक तनाव र निद्राको कमीले पाचन प्रणालीमा प्रत्यक्ष असर पार्न सक्छ ।

ध्यान दिनुहोस् कब्जियत हुन दिन हुँदैन । किनकि आन्द्रामा मल लामो समय रहँदा पेट फुल्ने, ग्यास बन्ने र पेट भारी हुने समस्या बढ्छ ।

ग्यास्ट्रिकको समस्या बारम्बार दोहोरिने, तौल घट्ने, दिसामा रगत देखिने, बान्ता भइरहने वा राति निद्राबाट उठाउने गरी पेट दुख्ने भए डाक्टरको परामर्श लिइहाल्नुपर्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस