राजविराज । समाचारको विषयलाई लिएर रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजका अध्यक्ष डा. पशुपति चौधरीले सामाजिक सञ्जालमार्फत लगाएको आरोप प्रमाणित गर्न नेपाल पत्रकार महासंघले चुनौती दिएका छन् ।
कान्तिपुर राष्ट्रिय दैनिकका सप्तरी संवाददाता विधानन्द रामले इ–कान्तिपुरमा प्रकाशित गरेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनको साढे ७ वर्षसम्म बनेन डीपीआर” शीर्षकको समाचार प्रकाशित भएको थियो । उक्त समाचारको लिंक शेयर गर्दै डा. चौधरीले पत्रकार र पत्रकारिता क्षेत्रको मर्यादामाथि नै तथ्यहीन एवम् कपोलकल्पित गम्भीर आरोप लगाएका छन् ।
महासंघ सप्तरीका कार्यवाहक सचिव डम्बर राईले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयवस्तु जनचाहनाअनुसार रहेको र तथ्यगत हुँदाहुँदै पनि सम्बन्धित पक्ष (प्रतिष्ठान)लाई चित्त नबुझेको अवस्थामा आफ्ना तर्क–प्रमाणसहित खण्डनका लागि सम्बन्धित मिडिया हाउसमा आग्रह गर्नुपर्ने, प्रेस काउन्सिलमा निवेदन दिनुपर्ने जस्ता विद्यमान कानुनी व्यवस्था हुँदाहुँदै अध्यक्ष डा. चौधरीले सामाजिक सञ्जालमा केही पत्रकारलाई मनगढन्ते ढङ्गले तथानाम लेख्नु स्वयं पदीय मर्यादाको समेत ख्याल नगरेको ठहर गरेको छ । प्रतिष्ठान अध्यक्ष चौधरीले आफ्नो फेसबुक प्रोफाइलमा समाचार सेयर गर्दै लेखेको तथानाम आरोपलाई प्रमाणसहित प्रमाणित गर्न नेपाल पत्रकार महासंघले आग्रह गरेको छ ।
अध्यक्ष चौधरीले लेखेको विषय प्रमाणित गर्न सके सम्बन्धित पत्रकारलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता समेत महासंघले दोहोर्याएका छन् । प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘यदि प्रमाणित गर्न नसके डा. चौधरीलाई सामाजिक सञ्जालमार्फत आफ्ना लेखाइप्रति क्षमायाचना गर्न आग्रह गर्दछौं, साथै, प्रतिष्ठानका माथिल्लो निकायले यो प्रकरणको विभागीय छानबिन गर्न पनि सम्बन्धित पक्षहरूसित जोडदार माग गर्दछौं ।
यसैगरी प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष धर्मपाल राउतले ई–कान्तिपुरमा लेखेको समाचारको विषयमा प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चौधरीले लेखेको फेसबुक स्टाटसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । समाचारलाई सेयर गर्दै पत्रकारहरूलाई दलाल, विचौलिया, विकाउ जस्ता शब्द प्रयोग गरेर गरेको टिप्पणी निन्दनीय रहेको भन्दै अगाडि भनिएको छ ‘प्रतिष्ठानको अध्यक्ष जस्तो गरिमामय पदमा बसेर लेखेको यो स्टाटस समय पत्रकारको छवि धुमिल पार्ने दुष्प्रयास हो ।’
समाचारमा कुनै आपत्तिजनक विषय भए कानुनी बाटोबाट अनुपयुक्त भन्न सकिने भए पनि कसैको यस्ता टिप्पणीले पदीय मर्यादालाई ठेस पु¥याउने काम गरेको भन्दै उनले लेखेको स्टाटस एकदमै दुःखद रहेको जनाएका छन् । अगाडि भनिएका छ ‘कुनै पत्रकारले यस्तो कुकृत्य गरेको भए प्रमाणसहित लेख्नुपर्ने हो, तर समग्र पत्रकारलाई यसरी बदनाम गर्ने गरी शब्द प्रयोग गर्नु अपराध हो ।’
उनले आफ्ना आपत्तिजनक शब्द सच्याएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने प्रेस मञ्च नेपाल शाखा सप्तरी माग गरेको छ । अध्यक्ष राउतद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘अबको २४ घण्टाभित्र उनले माफी नमागे हामी आगामी कदम चाल्न बाध्य हुनेछौं ।’
यसैगरी प्रेस जनमत संघ सप्तरीका अध्यक्ष रुपेश यादवले समेत डा. चौधरीको आरोपसहितको टिप्पणीप्रति गम्भीर आपत्ती जनाएका छन् । आधार प्रमाण बिना पत्रकार तथा समग्र पत्रकारिता क्षेत्रकै मानमर्दन हुने गरी सामाजिक सञ्जालमा स्टाटस लेखेर चरित्र हत्या गर्ने कार्य गरेकोप्रति निन्दा गर्दै समग्र चिकित्सा पेशालाई नै बदनाम हुने गरी कोही कसैले गरेको कार्यप्रति बुलन्द आवाज उठाउने विज्ञप्तिमार्फत प्रतिवद्धता व्यक्त गरिएको छ ।