राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयमा ड्युटीकै क्रममा एसएलआर राइफलबाट अचानक गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। घटनामा संलग्न प्रहरी जवानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार राति राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयको ‘ए’ ब्लकअन्तर्गत पोस्ट नम्बर–३ मा ड्युटीमा रहेका नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केबर (धनुषा) दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय घाइते भएका हुन्।
प्रहरीका अनुसार शौचालयबाट पोस्टतर्फ फर्किरहेका बेला पोस्ट नम्बर–४ मा ड्युटीमा रहेका २२ वर्षीय प्रहरी जवान अजयकुमार महतोले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको थियो। गोली रायको कम्मरमाथिको ढाडमा लागेको प्रहरीले जनाएको छ।
घाइते रायलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रेफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घाइते प्रहरी जवानको स्वास्थ्य अवस्था सामान्य छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
