सुझावलाई प्राथमिकतामा राखेर शिक्षा क्षेत्रमा काम गर्छौं: मन्त्री पोखरेल

राजविराज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाकर्मीबाट प्राप्त सुझावलाई प्राथमिकतामा राखेर शिक्षा क्षेत्रमा काम गर्ने बताएका छन् ।

शिक्षा क्षेत्रको सुझाव सङ्कलनका लागि राजविराजस्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय पुगेका मन्त्री पोखरेलले सप्तरीसहित मधेश प्रदेशका विभिन्न जिल्लाका विद्यालयमा स्थलगत निरीक्षण गरी विद्यार्थी, अभिभावक, शिक्षक तथा जनप्रतिनिधिबाट सुझाव लिइरहेको बताए ।

उनले जिल्लाअनुसार मौखिक तथा लिखित रूपमा सुझाव सङ्कलन भइरहेको जानकारी दिँदै प्राप्त सुझावका आधारमा प्राथमिकता निर्धारण गरी कामलाई अघि बढाउने योजना रहेको बताए ।

तीन दिनदेखि मधेश प्रदेशको भ्रमणमा रहेका मन्त्री पोखरेलले नयाँ पाठ्यक्रम तथा शिक्षा ऐन–नियमावली निर्माणका क्रममा व्यवहारिक र यथार्थमा आधारित सुझावलाई समेटिने बताए । उनका अनुसार नयाँ पाठ्यक्रम सीपमा आधारित हुनुपर्ने सुझाव प्राप्त भएको छ ।

स्थलगत रूपमा शिक्षा क्षेत्रका समस्या बुझेर समाधान गर्न सहज हुने भएकाले अन्य प्रदेशमा समेत सुझाव सङ्कलन गरिने उनले बताए ।

यसैबीच मधेश प्रदेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. भगवान ठाकुर नेतृत्वको टोलीले मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । टोलीले प्रादेशिक विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसरह सुविधा, विश्वविद्यालय अनुदान आयोगलगायत निकायबाट सहयोग र समन्वय, एकीकृत प्रवेश परीक्षा तथा प्रदेशमा स्थापना हुने कृषि कलेजलाई मधेश प्रदेश कृषि विश्वविद्यालयअन्तर्गत समावेश गर्न माग गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस