गल्तीवश ‘ श्री ५ सरकार’ हुन जाँदा १५ दिनको जेल सजाय भोगेका पत्रकार पन्नालाल

वि.सं. १९८६ साल भाद्र २७ गतेका दिन पिता वेचनलाल र माता यशोदाका सुपुत्रका रुपमा ‘चाचाजी’ नामले चर्चित नेपालगञ्जका पत्रकार पन्नालाल गुप्ताको जन्म भएको थियो ।

नेपालगन्जका मंगल प्रसाद शास्त्रीले स्थापना गरेको निजी विद्यालयबाट ८ कक्षा पास गरेका पन्नालाल गुप्ताले त्यसपछि विद्यालय अभावका बीच खुलेको नारायण विद्यालयबाट हाईस्कूल पूरा गरेका थिए । बुबाको निधन र अन्य शैक्षिक असहजताका बाबजुद पनि पढाइमा उच्च रुचि राख्ने उनले सोही नारायण विद्यालयमै सञ्चालित हिन्दी विश्वविद्यालय प्रयागको पाठ्यक्रम अनुसार विसारत उत्तीर्ण गर्दै अन्ततः हिन्दी भाषाको साहित्य रत्नमा डिग्री हासिल गरेका थिए ।

पढाई सकेपछि गुप्ताले स्थानीय टण्डन राईस मिलमा लेखापढी र म्यानेजरको जागिर गर्ने क्रममै वि.सं. २००३ देखि २००७ सम्म दिउँसो काम र रातभर राज्यविरोधी पर्चा पम्पलेट फाल्दै राणा विरोधी गतिविधिमा सक्रियता बढाएका थिए । आफ्ना दाजु महावीरको प्रेरणामा प्रजातान्त्रिक आन्दोलनमा कडा रूपमा उत्रिएका उनले वि.सं. २०११ मा लखनऊबाट प्रकाशित हुने ‘नयाँ सन्देश’ मासिक पत्रिकाबाट पत्रकारिता यात्रा सुरु गर्दै पछि वि.सं. २०१८ मा ‘अनुराधा’ मासिक र वि.सं. २०३१ मा दाजु महावीरले नेपालगन्जबाट प्रकाशन गरेको ‘किरण’ साप्ताहिक पत्रिकामा सहायक सम्पादक भई दिउँसो मिलको जागिर र रातभर समाचार तथा लेख लेखन कार्यलाई निरन्तरता दिएका थिए।

वि.सं. २०३७ मा ‘किरण’ साप्ताहिक पत्रिकामा ‘राष्ट्र पुकार’ पत्रिकाबाट साभार गरिएको एक लेख छाप्ने क्रममा प्राविधिक गल्तीवश ‘श्री ५ को सरकार’ हुनुपर्नेमा ‘को’ अक्षर खसेर ‘श्री ५ सरकार’ हुन जाँदा गुप्ताले १५ दिनको जेल सजाय र लामो कानुनी झमेला भोग्नुपर्‍यो। तत्कालिन प्रशासनले यसलाई राजद्रोह ठहर गर्दै राजकाज ऐन अन्तर्गत उनीविरुद्ध मुद्दा चलाएको थियो। तत्कालिन समयमा आधुनिक अफसेट प्रेस नभएका कारण हातले एक-एक अक्षर जोडेर छाप्नुपर्ने बाध्यता थियो।

अक्षरसः कम्पोज गरेर छाप्नुपर्ने त्यो जमानाको सोही प्राविधिक गल्तीको मुद्दा जिल्ला अदालतले छाडे पनि पुनरावेदन अदालतले ब्युँताएपछि अन्ततः वि.सं. २०४६ सालमा मात्र सो मुद्दाको अन्तिम टुङ्गो लागेको थियो। नेपाली पत्रकारिताका धरोहर पन्नालाल गुप्ताको २०७६ माघ १५ गते राति नेपालगन्जमा निधन भएको थियो । Source: तस्विरमा नेपाल

Author:



क्याटोगरी छान्‍नुहोस