पाराडाइज क्याम्पसको प्रमुखमा गोवर्द्धन साह नियुक्त

राजविराज । सप्तरीको राजविराज स्थित पाराडाइज क्याम्पसको प्रमुखमा गोवद्र्धन साह नियुक्त भएका छन् ।

क्याम्पसका संस्थापक अध्यक्ष समेत रहेका साहले सोमबारै पदभार समेत ग्रहण गरेका हुन् । यस अघि सहायक क्याम्पस प्रमुख तथा कोअर्डिनेटरको जिम्मेवारीमा रहेर कुशलतापूर्वक जिम्मेवारी वहन गर्दैआएका थिए ।

शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदैआएका उनी २०४७ सालमा वीरेन्द्र बहुमुखि क्याम्पस चितवन भरतपुरबाट प्राध्यापन पेशामा प्रवेश गरेका थिए । २०६० सालमा सरुवा भई राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा २०८० सम्म गणित विषय अध्यापनरत थिए ।

सप्तरीमा गुणस्तरीय शिक्षा दिई दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ प्राध्यापकहरुसँग सहकार्य गरेर पाराडाइज क्याम्पस सञ्चालनमा साहको महत्त्वपूर्ण योगदान रहेको छ । उनी सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ३ मौवाहा तथा हाल राजविराज नगरपालिका वडा नम्बर ८ निवासी हुन् ।
जिल्लाकै चर्चित पाराडाइज क्याम्पसमा हाल विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकी सहितका सङ्कायमा करिब ६ सय छात्रछात्रा अध्ययनरत छन् । बीबीएसमा २ सय २५ छात्रछात्रा अध्ययनरत छन् ।

क्याम्पस प्रमुखको पदभार ग्रहण गर्दै उनले पाराडाइज क्याम्पसको शाखलाई अझ माथि पुर्याउन आफुले अझ सशक्त भएर जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे । शिक्षा क्षेत्रमा कार्यरत रहँदा आफूले प्राप्त गरेको अनुभवलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा समर्पित रहने उनले बताए ।

यस अघि क्याम्पस प्रमुखको जिम्मेवारीमा प्रा. रामनारायण यादव रहेका थिए । क्याम्पस स्थापनाकालमा उक्त जिम्मेवारी प्रा. मधुसुदन उपाध्यायले सम्हालेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस