मधेशको सत्ता संघर्ष पेचिलो, जसपा नेपालले माग्यो मुख्यमन्त्री

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर राजनीतिक दलहरूबीच रस्साकस्सी सुरु भएको छ।

सरकार गठनका लागि संविधानको धारा १६८(२) अनुसार दिइएको समयसीमा समाप्त भएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले उपधारा (३) अनुसार संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेको छ। तर, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकार गठनका लागि थप समय माग गरेका छन्। तीन दलका संसदीय दलका नेताहरू शुक्रबार प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गर्न केही दिन समय थपिदिन आग्रह गरेका हुन्।

प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले गत कात्तिक २८ गते उपधारा (२) अनुसार बहुमत जुटाएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न शुक्रबार अपराह्न ४ बजेसम्म समय दिएका थिए। तर, निर्धारित समयभित्र कुनै दलले दाबी पेस गर्न सकेनन्।

समयसीमा सकिएपछि जसपा नेपालका नेता तथा पूर्वमुख्यमन्त्री लालबाबु राउतसहितको टोली प्रदेश प्रमुखकहाँ पुगेको थियो। राउतले अब उपधारा (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने बताए।

२८ सांसदसहित जसपा नेपाल प्रदेशसभाको सबैभन्दा ठूलो दल हो। एमालेका २४, कांग्रेसका २२ र नेकपाका १४ सांसद छन्। तीन दलले थप समय पाए बहुमतको सरकार गठन गर्ने प्रयास गर्ने जनाएका छन्।

अब उपधारा (२) को समय थप्ने वा उपधारा (३) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउने भन्ने निर्णय प्रदेश प्रमुखको हातमा छ। यसले मधेशको आगामी सत्ता समीकरण निर्धारण गर्नेछ।

Author:



क्याटोगरी छान्‍नुहोस