जनकपुरधाम । मधेश प्रदेशमा बेरोजगारी न्यूनीकरण, युवालाई सीपयुक्त बनाउने तथा स्वरोजगार र आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेलगत्तै गरिबी, बेरोजगारी र न्यून साक्षरता जस्ता समस्याको समाधानका लागि सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
सरकारको प्रस्तावित कार्यक्रमअन्तर्गत पुनःसीप विकास तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन, मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यस्तै, युवालाई आधुनिक प्रविधिसँग जोड्दै स्वरोजगार तथा आत्मनिर्भर बनाउन कृत्रिम बुद्धिमत्ता (एआई), ई-कमर्स र कम्प्युटरसम्बन्धी तालिम सञ्चालन गरिने निर्णयमा उल्लेख छ ।
प्रदेशका आठवटै जिल्लामा एक महिनाभित्र कार्यक्रम सुरु गर्ने लक्ष्य लिइएको छ । सीप विकास र उद्यमशीलता प्रवर्द्धनमार्फत युवालाई रोजगारीका अवसर सिर्जना गर्नुका साथै प्रदेशमा गरिबी र बेरोजगारी न्यूनीकरण गर्ने सरकारको उद्देश्य रहेको छ ।