११ वर्षमा पनि बनेन घोरदह नदीको पुल !

राजविराज, २६ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित रमपुरा र गोविन्दपुर गाउँका हजारौं सर्वसाधारणलाई छिन्नमस्ता बजार हुँदै सदरमुकाम राजविराजसम्म जोड्ने सडक हो, छिन्नमस्ता–रमपुरा सडक खण्ड ।

छिन्नमस्ता–रमपुरा सडक खण्डमा पर्ने घोरदह नदीमा पुल नहुँदा दशकैंदेखि जोखिम मोलेरै सर्वसाधारण नदी वारपार गर्थे । २०६६ सालमा एक करोड २५ लाखमा टेण्डर प्रक्रिया सम्पन्न भएर पुल निर्माण कार्य सुरु भए । निर्माण कार्य सुरुसँगै सडक सञ्जालमा जोडिने सर्वसाधारणमा आशा पलायो । तर, पुल निर्माणको ठेक्का पाएका आशिष निर्माण सेवाले निर्माण कार्य सुरु गरेको ११ वर्ष विताएर पनि कार्य पुरा गर्न सकेको छैन् ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण अझैसम्म पुल बन्न नसक्दा हजारौं सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । ‘यहाँका सर्वसाधारणले दशकौंसम्म समस्या नै झेले, तर २०६६ सालतिर पुल बन्ने भएपछि समस्या सामाधान हुने सर्वसाधारणमा आशा पलाएपनि अझैसम्म पुल बनेको छैन्’ वडा नम्वर २ रमपुरका विनोद कुमार साफीले भने–‘जसका कारणले गाउँका कोही विरामी पर्दा वा गर्भवति महिलालाई व्यथा लाग्दा एम्वुलेन्ससम्म पनि गाउँमा पुग्दैन् ।’

नदीमा पुल नहुँदा गाउँमा विकासीय कामकाज पनि हुन नसकेको उनले गुनासो गरे । ‘गाउँका सर्वसाधारण अझै १९ औं शताब्दीमै रहेको महसुस गर्छन्, जसको प्रमुख कारण सडक सञ्जाल नै हो’ साफीले भने–‘विकासको पहिलो आधार नै सडक सञ्जाल हो । तर, बजारदेखि गाउँसम्म पुग्नै अप्ठयारो रहेकाले गाउँमा विकास पनि भएको छैन् । ’

उनले सडक डिभिजन कार्यालय लहान र जनप्रतिनिधिले चासो नदेखाउँदा निर्माण सुरु भएको यतिका वर्ष भइसक्दा पनि पुल निर्माण कार्य अलपत्र नै रहेको बताए । ‘सडक डिभिजन कार्यालय लहानले टेण्डर प्रक्रियामार्फत ठेक्का लगाएपनि कार्य सम्पन्न गराउनेतर्फ ध्यान दिएकै छैन्, पुल बनाउनेतर्फ जनप्रतिनिधिले पनि चासो देखाउनुपर्ने हो’ उनले भने–‘तर जनताको समस्याप्रति जनप्रतिनिधि पनि गम्भीर छैन्, जसको कारणले ठेकेदारको चरम लापरवाही कायम छ ।’

अर्का स्थानीयवासिन्दा अर्जुनकुमार मण्डल ‘धियानी’ले पुलको काम अलपत्र छाडेर ठेकेदार कम्पनी गायब हुँदा झण्डै ३ हजार सर्वसाधारणको बसोवास रहेको सो गाउँको समस्या ज्यूकात्यू दुखेसो गरे । ‘हामी गाउँलेकोलागि सरकार नै छैन् जस्तो भो’ उनले भने–‘नभए ११ वर्षसम्म पनि पुल नबन्दा सरोकारबालाको चासो त हुनुपर्ने हो नि, खै सरकार ?’

पुल निर्माण कार्य सम्पन्न गराउनेतर्फ ध्यान पुर्याउन उनले सवैमा आग्रह गरे । उता, जनप्रतिनिधिले सर्वसाधारणको समस्या सामाधान गर्नका निम्ति पुल निर्माणको ठेक्का पाएका कम्पनीसँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको बताउँछन् ।

‘गाउँपालिका अध्यक्षलाई लगाएर पटक पटक ताकेदा गराउँदा पनि निर्माण कम्पनीको अटेर कायमै छ’ वडा नम्वर २ का अध्यक्ष चुनचुन साहले भने–‘अब गाउँपालिकामा सल्लाह गरेर कानूनी प्रक्रिया अपनाएर अधुरो पुल निर्माण कार्य अघि बढाउने बाहेकको विकल्प छैन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780