‘अव पनि भुक्तानी गराउन ढिलाई भए हामी किसानसँगै आन्दोलनमा उत्रिन बाध्य हुनेछौं’

राजविराज, २९ मंसिर । संघीय सरकारसँग एक वर्षअघि भएको समझौता कार्यान्वय नभएको भन्दै उखु किसानहरुले थालेको आन्दोलनले प्रदेश सरकार पनि तातेको छ ।

सोमवार मधेश लाइभसँग कुरा गर्दै प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले उखु किसानहरुको माग तत्काल सम्वोधन गर्न आग्रह गरेका छन् । ‘आफ्नै मिहिनेत मजदुरीबाट उत्पादन गरिएको उखुको भुक्तानी नपाउनु र भुक्तानी पाउन आन्दोलनसम्म गर्नु पर्ने ज्यादै दुःखद हो’ उनले भने–‘संघीय सरकारले किसानहरुको समस्या तत्कालै सम्वोधन गर्नुपर्नेतर्फ गम्भीर हुनु आवश्यक छ ।’

उनले अव पनि भुक्तानी गराउन ढिलाई गरिए बाध्य भएर प्रदेश सरकार पनि किसानहरुसँगै आन्दोलनमा जाने चेतावनी समेत दिए । ‘हामीले पहल नगरेको पनि होइन, तर संघीय सरकारले कुनै वास्ता नै गर्दैन’ उनले भने–‘हिजो पनि प्रदेश सरकार किसानसँगै थिए, आज पनि छ र भोली पनि रहने नै छ, त्यसैले अव पनि भुक्तानी गराउन ढिलाई भए हामी किसानसँगै आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’

गत पुस १८ गतेमा भएको सम्झौताअनुसार चिनी मिल सञ्चालकबाट सरकारले बक्यौता रकम उठाइदिनुपर्ने उल्लेख छ ।तर, संघीय सरकारले ध्यान नदिएको भन्दै उखु किसान सघर्ष समिति सर्लाहीले संघीय राजधानीमा आन्दोलन थालेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस