जनकपुरधाम । कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला भएको छ । मंगलवार सर्वोच्च अदालतले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गरेको छ । न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेको थियो । प्रारूपअनुसार पाठ्यक्रम बनेर कार्यान्वयनमा गएको आठ महिनापछि अदालतमा रिट परेको थियो ।
भगवता अर्यालले अधिकार क्षेत्रको विषयमा प्रश्न उठाउँदै अदालतमा रिट दायर गरेकी थिइन् । सो रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नु’ भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।