प्रदेश २ मा होलीलाई लक्षित सात हजारबढी सुरक्षाकर्मी परिचालित

जनकपुरधाम, १५ चैत । होलीमा हुन सक्ने अप्रिय घटनालाई लक्षित गरी प्रदेश २ मा सात हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेशका ८ वटै जिल्लामा ७ हजार नेपाल प्रहरी, ३ सय ट्राफिक प्रहरी र १ सय जना सदा पोसाकमा प्रहरी परिचालन गरिएको डिआइजी धिरज प्रसाद सिंहले जानकारी दिए ।

होलीमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्न ठाउँ ठाउँ चेकजाँचकासाथै गस्ती गर्न आजैबाट सुरक्षाकर्मी खटाइसकिएको उनले बताए । ‘होलीमा जबर्जस्ती रंग हाल्ने, लोला हान्ने, फोहर पानी छ्याप्ने लगायतका कार्य नगर्न यसअघि नै विभिन्न माध्यमबाट सूचना गरिसकिएको छ र हुँदैछ पनि’ उनले भने–‘यद्यपी, अटेर गर्नेलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाउन निर्देशन पनि जारी गरेको छु ।’

उनले होली मनाउँदा कोरोना संक्रमणलाई मध्यनजर गर्न आग्रह गरे । ‘अहिले विश्भसाथै छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमणको दर बढ्दो छ र यो प्रदेश सिमानाकासँगै जोडिएकोले यहाँ अलि बढी नै संक्रमणको जोखिम छ’ उनले भने–‘संक्रमणबाट बच्न र बचाउन सरकारले जारी गरेको स्वास्थ्य मापदण्डहरुको पालना गरेर मात्र होली मनाउन सवैमा आग्रह छ ।’

स्वास्थ्य सतर्कता अपनाएर होली मनाउन आग्रहः मुख्यमन्त्री

मुख्यमन्त्री लालबाबु राउतले यसअघि नै कोरोना महामारीको जोखिम पुनः बढ्दै गएकाले स्वास्थ्य सतर्कता अपनाएर होली पर्व मनाउन आग्रह गरिसकेका छन् ।

उनले शुभकामना सन्देश जारी गर्दै होली पर्वको सुखद अवसरमा सम्पूर्ण प्रदेशवासीको सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको शुभकामना समेत व्यक्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस