डुंगामा अडिएको मधेसको ‘जीवनरेखा’

जनकपुरधाम । मधेस समृद्धिको ‘जीवनरेखा’ मानिने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल तर्नका लागि फेरि पनि डुंगाकै सहारा लिनुपरेको छ। एक दशक लगाएर निर्माण सम्पन्न भएर पैदल यात्रीका लागि खुलासमेत गरिएको पक्की पुल भत्किएपछि वारिपारि गर्न डुंगा मात्र विकल्प भएको हो।

सिरहा र धनुषाबीच दु्रत सम्पर्कको सेतु हो, कमला नदीको पुल। यो पुल निर्माणसँग धनुषा–सिरहाबीच द्रुत सम्पर्क मात्र होइन, मधेसकै जीवनपद्धति जोडिएको छ।

२०६८ सालमा ठेक्का लागेर निर्माण सुरु भएपछि यस भेगका वासिन्दा पुल बन्नेमा ढुक्क भए। तर, दस वर्ष लगाएर बनेको पुल प्रयोगमा नआउँदै भत्कियो। पुल भत्किएसँगै उनीहरूको आशा निराशामा परिणत भएको छ । सम्झौता अनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने पुल निर्माणपछि धकेलिँदै गएको छ। तीनपटक म्याद थपिएर ०७८ असार मसान्तसम्म पुर्‍याइएको थियो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका इन्जिनियर जयनाथ यादवका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधबीचमा ४ सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ०६८ जेठ ३१ गते भएको सम्झौतामा ०७१ मंसिर ३० गते निर्माण पूरा गर्ने उल्लेख गरिएको छ। तर, दुईपटक म्याद थपेर ०७५ मंसिर ३० गतेसम्म समय लम्ब्याइयो। यो समयसीमाभित्र पुलको काम सम्पन्न नभएपछि पुनःम्याद थपेर ०७८ असार मसान्तसम्म पुर्‍याइएको इन्जिनियर यादव बताउँछन् । पछिल्लोपटक म्याद थप्दा पप्पुलाई हटाएर लुम्बिनी विल्डर्सलाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो।

मधेसको ‘जीवनरेखा’ मानिने हुलाकी राजमार्गअन्तर्गत कमला पश्चिम बाँध र सिरहाको बसबिट्टाको कमला पूर्वी बाँधबीच १२ सय मिटर दूरीमा ४ सय ७० मिटरको पुल निर्माण सकिएलगत्तै भत्केपछि पुलमाथिबाट नदी तर्ने यस भेगका जनताको सपना तुहिएको छ।

कमला नदीमा पुल नहुँदा १२ सय मिटरको दूरी पार गर्न दुवैतिर(सिरहा र धनुषा)का बासिन्दाको सहरा फेरी नाउ (डुंगा) बनेको छ। कमलु नाउवालाले दुवैतिरका वासिन्दालाई वारपार गराउँदै आएका छन्। कमलु भन्छन्, ‘नदीमा पानीको बहाव बढेर बाढीको रूप लिँदा नाउ चलाउन खतरा हुन्छ । छ वर्ष भयो, कमलाको बाढीले नाउ पल्टाउँदा सातजनाको ज्यान गएको थियो।’ धनुषाको हथमुण्डा, लक्कर, बरेबा, कठाल, बनरझुल्ला, लगमा, भलुवाहा, फुलबरिया, सगहारालगायत गाउँका वासिन्दाको दैनिक उपभोग्य वस्तु खरिद गर्ने बजार सिरहा हो।

यी गाउँका वासिन्दा किनमेल गर्न नाउ चढेर सिरहा बजार आउँछन्। सामान किनमेल गरेर फेरि नाउबाटै कमला नदी पार गर्छन्। धनुषा सगहाराकी सकिना खातुन भन्छिन्, ‘सुक्खायाममा नाउको यात्रा सुरक्षित नै हुन्छ तर, वर्षायाममा भने जोखिम हुन्छ। पुल भएर कमला नदी तर्ने वर्षौंदेखिको सपना पूरा नहुँदै तुहियो। पुल बनिसकेपछि नाउमा जोखिमपूर्ण यात्राको पिरलो दूर हुन्छ सोचेकी थिएँ,’ उनले भनिन्, ‘दस वर्षमा कमला पुल त बन्यो तर टिकेन । समान्य बाढीले पुल बगाउँदा हाम्रो सपना पनि पुलसँग बग्यो,’ उनले भनिन्।

डुंगाबाट कमला नदी पार गरिरहेका धनुषा सगरहाराका विश्वनाथ मण्डलले नागरिकसँग भने, ‘यो पुलको हबिगत यस्तो हुनुमा ठेक्केदार मात्र दोषी छैनन्, सरकार पनि दोषी छ । काम नगर्ने ठेक्केदारलाई पटकपटक म्याद थपेर रकम भुक्तानी दिनु नै सरकारको गल्ती भएको उनको बुझाइ छ। समान्य वर्षाको भेलले यती महँगो पुल बगाउँछ भने यसको दोष केवल ठेकेदारलाई कसरी दिन मिल्छ ? उनले भने, ‘कामको गुणस्तर जाँच्ने सरकारी प्राविधिकले कसरी यस्तो कामलाई सदर गर्‍यो ?’

हुलाकी राजमार्ग मधेसको द्रुत सम्पर्क मार्ग हो। जसले मधेसी जनताको आर्थिक, सांस्कृतिक पक्षलाई मात्र बलियो बनाउँदैन, समग्र मधेसलाई समृद्धिको बाटोमा लैजाने बताउँछन्, सिरहाका बुद्धिजीवी किशोरी यादव। ‘भारतीय सीमासँग नजिक रहेकाले यसले पूर्णता पायो भने यो क्षेत्र गुलजार हुन्छ।’

पूर्व–पश्चिम राजमार्ग नबन्दै (राणाकालीन समयदेखि) चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटो भएकाले यसलाई हुलाकी मार्ग नाम दिइएको हो। तराई–मधेसका जिल्ला जोड्ने यो पहुँचमार्ग पूर्व–पश्चिम नौ सय ७५ किमि फैलिएको छ। यो राजमार्गसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किमिका ३२ वटा सहायक राजमार्ग छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७ सय ९२ किमि पुगेको छ।

नेपालको कुल क्षेत्रफलको १७ प्रतिशत भू–भाग ओगटेको तराई–मधेसलाई अन्नको भण्डार पनि मानिन्छ। जहाँको उत्पादनले मुलुकलाई पाल्न सक्छ, भनिन्छ। तर, मधेसको मेरुदण्ड हुलाकी राजमार्ग निर्माणमा राज्यको बेवास्ताले मधेसलाई मात्र नभई देशलाई नै घाटा भइरहेको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् । तराई–मधेसमा ५५ प्रतिशत खेतीयोग्य भूमि छ। ६० प्रतिशतभन्दा बढी उद्योग, कलकारखाना, वनजंगल र विभिन्न सांस्कृतिक धरोहर यसै क्षेत्रमा छन्। स्रोत, साधन र सुगमता प्रचुर भए पनि यो क्षेत्रका वासिन्दा (मधेसी) मानव विकास सूचकांकमा पछाडि (गरिब) छन्।

पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गहरूसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्नसके मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन सम्भव रहेको प्रदेश २ का सांसद जगतप्रसाद यादव बताउँछन्।

यो समाचार नागरिक दैनिकमा छ ।

 

Author:

क्याटोगरी छान्‍नुहोस